Below Menu
Below Menu

सर्किट पर्यटनमा केबलकार नयाँ आयाम

सर्किट पर्यटनमा केबलकार नयाँ आयाम

बुटवल : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । 

लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवद्र्धनमा नौलो प्याकेज हुने बताए । 
नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुबै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताए । 

आईएमई ग्रुपको अगुवाईमा अबको ५ वर्षमा पाँचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले बताए । नेपालमा सयौं हिल्स एरिया रहेका र त्यहाँ केबलकार लगायत पर्यटकीय पुर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने संभावना रहेको ढकालले बताए । 
कुल ५ अर्ब लागतको २.६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन छ । 

टप स्टेशनमा कामाख्यादेवी सहित सय वर्ष पुरानो भगवती मन्दिर, शिव वाहन नन्दी लगायतका धार्मिक संरचनाहरु छन् । 
लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेकाले पाल्पा बसन्तपुरको मनोरम प्राकृतिक भुगोल, कामाख्या देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए । 

अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषि जस्ता क्षेत्रहरुमा भारतीयसंग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने समेत औंल्याए । 

भारतीय पर्यटकहरुलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे । 
सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्या मध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए । केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शका लागि नेपालीसंगै भारतीय नागरिकको आकर्षण रहेको उनले बताए । 

लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पांचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पर्यटन पत्रकार नरेश केसी लगायतले नेपाल र भारतबीच सरकारी स्तर संगै नागरिक स्तरको सहकार्यबाट दुबै देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने बताए ।

 

Advertisment

थप समाचार