काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताएका छन् ।
आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं । अब आउने मौद्रिक नीतिमा मार्जिनली पलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’
अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष रहेकाे समेत उनले बताए । राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको भन्दै मन्त्री डा. महतले भने, ‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ । मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन ।’
व्याजदर अर्को महत्वपूर्ण पक्ष भएको उनले बताए । ‘कति व्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ’, मन्त्री डा. महतले भने, ‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पूँजी प्रवाह हुन सकेको छैन । यद्यपि हाम्रा अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता छ । चलायमान बनाउनका लागि समस्या आइरहेको छ ।’
मन्त्री डा. महतले भने, ‘पूँजीगत खर्च हामीले भने जति विनियोजन गर्न सकिएको छैन । जति विनियोजन भएको छ, त्यसलाई पूरै खर्च गर्न सकियो रि–साइकल हुन्छ र त्यसले उत्पादन दिन थाल्छ ।’
अहिले मौद्रिक नीति थोरै खुकुलो बनाएर जाँदा हाम्रो अर्थतन्त्र चलायमान गराउन मद्दत पुग्ने मन्त्री डा. महतको दाबी छ । `चलायमान अर्थतन्त्रको सकरात्मक संकेतहरु देखिन थालेको छ । वैदेशिक मुद्रा सञ्चिति कम हुन थाल्यो भनेर हामी आत्यौं, अतिकति समस्या आयो भने खत्तमै भइहाल्यो भन्ने हाम्रो मानसिकता छ । त्यो नै बहसको केन्द्रविन्दू हुन्छ । सरकारमा र नीति निर्माणमा बसेकाहरु प्रभावित भएर निर्णयमा पुगिहाल्छन्´, उनले भने ।
Advertisment