काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गरी प्राविधिक कारण १ दिनपछि असार २१ गतेदेखि मात्रै आईपीओ बिक्री खुला गरिने जानकारी गराएको छ।
यसअघि कम्पनीले सर्वसाधारणका लागि आज (असार २० गते) बाट आवेदन खुला गरिने जनाएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति पाएको छ।
कम्पनीले पहिलो चरणमा कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। कुल कित्ताको ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
Advertisment