लन्डन : बेलायतको केन्द्रीय बैंक (बैंक अफ इंग्ल्यान्ड) ले तीन वर्षभन्दा लामो समयपछि पहिलोपटक ब्याजदर वृद्धि गर्ने तयारी गरेको छ। बैंकले बिहीबार सार्वजनिक गर्ने मौद्रिक नीतिसम्बन्धी निर्णयमा हाल कायम ३.७५ प्रतिशतको आधार ब्याजदर बढाएर ४ प्रतिशत पुर्याउने अपेक्षा गरिएको छ।
अधिकांश अर्थशास्त्री तथा बजार विश्लेषकहरूले ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले वृद्धि हुने अनुमान गरेका छन्। यस्तो निर्णय कार्यान्वयन भएमा बेलायतमा ऋण लिने व्यक्ति तथा व्यवसायको लागत बढ्नेछ भने बचतकर्ताले पाउने ब्याजदरमा सुधार आउन सक्नेछ।
बैंक अफ इंग्ल्यान्डले सन् २०२३-२४ मा ब्याजदरलाई अधिकतम ५।२५ प्रतिशतसम्म पुर्याएको थियो। त्यसपछि क्रमशः घटाउँदै ३.७५ प्रतिशतमा झारेको बैंकले पछिल्ला छवटा बैठकमा भने ब्याजदर यथावत् राख्दै आएको छ। बैंकले यसअघि अन्तिमपटक सन् २०२३ अगस्टमा ब्याजदर वृद्धि गरेको थियो।
महँगी बढेपछि ब्याजदर वृद्धिको दबाब
बेलायतमा पछिल्लो समय मुद्रास्फीति पुनः बढ्न थालेपछि केन्द्रीय बैंकमाथि ब्याजदर वृद्धि गर्नुपर्ने दबाब परेको छ। विशेषगरी पेट्रोल, डिजेल तथा ऊर्जा क्षेत्रको मूल्यवृद्धिले समग्र महँगी बढाएको विश्लेषकहरूको भनाइ छ।
उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अनुसार सन् २०२६ को सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतको मुद्रास्फीति दर ३.५ प्रतिशत पुगेको छ। यो अघिल्लो महिना अगस्टमा कायम ३.१ प्रतिशतभन्दा बढी हो। केन्द्रीय बैंकले लक्ष्य निर्धारण गरेको २ प्रतिशतको तुलनामा पनि मुद्रास्फीति निकै माथि रहेको छ।
इरान युद्धको निरन्तर प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा तथा इन्धनको मूल्य बढ्दा त्यसको असर बेलायतको मुद्रास्फीतिमा परेको छ। आगामी जनवरीमा घरायसी ऊर्जा उपभोक्ताले समेत उल्लेख्य मूल्यवृद्धिको सामना गर्नुपर्ने अवस्था रहेको छ।
बैंक अफ इंग्ल्यान्डले बिहीबार १२ः०० जीएमटीमा ब्याजदरसम्बन्धी निर्णय सार्वजनिक गर्नेछ। ब्याजदर वृद्धिको निर्णयसँगै आगामी दिनमा मौद्रिक नीति कस्तो रहनेछ भन्ने विषयमा केन्द्रीय बैंकको संकेतलाई पनि बजारले नजिकबाट नियाल्नेछ।
सीएमसी मार्केट्सका बेलायत प्रमुख क्रिस चेभरलका अनुसार अहिलेको मुख्य चासो ब्याजदर ४ प्रतिशत पुग्छ कि पुग्दैन भन्नेमा मात्र सीमित छैन, त्यसपछि केन्द्रीय बैंकले कस्तो नीति अपनाउँछ भन्नेमा पनि केन्द्रित छ।
उनले अपेक्षित ०.२५ प्रतिशत बिन्दुको वृद्धिको सम्भावना व्यापक रूपमा स्वीकार गरिए पनि उच्च मुद्रास्फीति र कमजोर बन्दै गएको आर्थिक वृद्धिको सम्भावनाबीच सन्तुलन कायम गर्नु बैंकका लागि चुनौतीपूर्ण रहेको बताएका छन्।
ऋण लिनेहरूलाई थप आर्थिक भार
बैंक अफ इंग्ल्यान्डको आधार ब्याजदरमा हुने परिवर्तनले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने ऋण र बचतको ब्याजदरमा प्रभाव पार्छ। त्यसैले ब्याजदर बढेमा विशेषगरी घर किन्न लिएका ऋणको मासिक किस्तामा असर पर्नेछ।
बैंकिङ क्षेत्रको व्यापारिक संस्था यूके फाइनान्सका अनुसार बेलायतमा हाल करिब पाँच लाख १० हजार ट्र्याकर मोर्टगेज लिएका ऋणी छन्। आधार ब्याजदर ०।२५ प्रतिशत बिन्दुले बढेमा सामान्य ट्र्याकर मोर्टगेज लिने व्यक्तिको मासिक किस्ता करिब ३१ पाउन्डले बढ्नेछ।
त्यस्तै, परिवर्तनशील ब्याजदर (भेरिएबल रेट) मा ऋण लिएका करिब चार लाख ७० हजार ऋणीको हकमा भने सम्बन्धित ऋणदाताले लिने निर्णयमा निर्भर हुनेछ। सामान्यतया ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुको वृद्धि हुँदा उनीहरूको मासिक किस्ता करिब १४ पाउन्डले बढ्न सक्नेछ।
तर निश्चित ब्याजदर (फिक्स्ड रेट) मा मोर्टगेज लिएका ग्राहकको मासिक किस्तामा तत्काल परिवर्तन हुनेछैन। यद्यपि, उनीहरूले भविष्यमा नयाँ ऋण सम्झौता गर्दा भने बढेको ब्याजदरको प्रभाव भोग्नुपर्नेछ। बैंक तथा ऋणदाताहरूले अपेक्षित ब्याजदर वृद्धिलाई नयाँ ऋण प्रस्तावमै समेटिसकेका छन्।
नयाँ घर कर्जाको ब्याजदर ६ प्रतिशत नजिक
वित्तीय सूचना सेवा मनीफ्याक्ट्सका अनुसार नोभेम्बर ४ सम्म बेलायतमा आवासीय घर कर्जाको औसत दुई वर्षे निश्चित ब्याजदर ५.९६ प्रतिशत पुगेको छ। त्यस्तै, पाँच वर्षे निश्चित ब्याजदर औसत ५.९९ प्रतिशत रहेको छ।
यसले पाँच वर्षअघि कम ब्याजदरमा घर कर्जा लिएका ग्राहकलाई नयाँ सम्झौता गर्दा ठूलो आर्थिक भार पर्ने देखिएको छ।
ऋण परामर्शदाता संस्था एल एन्ड सीका अनुसार बेलायतका १० ठूला ऋणदाताले उपलब्ध गराएका औसत मोर्टगेज ब्याजदरको तुलना गर्दा २५ वर्ष अवधिका लागि दुई लाख पाउन्ड ऋण लिएका केही ग्राहकले सन् २०२१ मा नयाँ सम्झौता गर्ने ग्राहकको तुलनामा वार्षिक झन्डै पाँच हजार पाउन्ड बढी किस्ता तिर्नुपर्ने अवस्था छ।
सन् २०२१ मा बेलायतका १० ठूला ऋणदातामध्ये पाँच वर्षे निश्चित ब्याजदरमा पुनः ऋण सम्झौता गर्ने ग्राहकका लागि औसत ब्याजदर १।३० प्रतिशत मात्र थियो।
बचतकर्तालाई भने फाइदा हुन सक्ने
ऋण लिनेहरूका लागि ब्याजदर वृद्धि अतिरिक्त आर्थिक भार बन्न सक्ने भए पनि बचतकर्ताले भने यसबाट लाभ लिन सक्नेछन्। आधार ब्याजदर बढेपछि बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजदरसमेत बढाउन सक्नेछन्।
पछिल्लो समय निश्चित ब्याजदरमा घर कर्जा लिने लागत उच्च भएपछि केही ऋणीले ट्र्याकर मोर्टगेज रोज्ने सम्भावनाबारे पनि विचार गरिरहेका छन्। उनीहरूले आगामी महिनाहरूमा आधार ब्याजदर बढे पनि ट्र्याकर कर्जाको ब्याजदर निश्चित कर्जाभन्दा कम हुन सक्ने अपेक्षा गरेका छन्।
तर मनीफ्याक्ट्सकी र्याचेल स्प्रिङहलका अनुसार ट्र्याकर वा निश्चित ब्याजदरमध्ये कुन विकल्प रोज्ने भन्ने निर्णय गर्दा भविष्यमा हुन सक्ने ब्याजदर वृद्धिलाई धान्न सक्ने अवस्था छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन्छ।
बेलायतको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम, ऊर्जा तथा इन्धनको मूल्य र मुद्रास्फीतिको अवस्थाले आगामी दिनमा बैंक अफ इंग्ल्यान्डको मौद्रिक नीतिलाई प्रभावित गर्ने देखिन्छ। त्यसैले बिहीबारको निर्णयसँगै आगामी ब्याजदरको दिशाबारे केन्द्रीय बैंकले दिने संकेतलाई पनि ऋणी, बचतकर्ता तथा वित्तीय बजारले चासोका साथ हेर्नेछन्।