Below Menu

६.३० अर्ब डलरको क्रिप्टो ह्याकपछि बाइनान्सबाट बाहिरियो ३.६४ अर्ब डलर, नोक्सानी कम्पनीले व्यहोर्ने

६.३० अर्ब डलरको क्रिप्टो ह्याकपछि बाइनान्सबाट बाहिरियो ३.६४ अर्ब डलर, नोक्सानी कम्पनीले व्यहोर्ने

एजेन्सी : विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणपछि ग्राहकहरूले एकै दिनमा करिब ३ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सम्पत्ति फिर्ता लगेका छन्। आक्रमणपछि कारोबार सेवा बन्द गरेको बाइनान्सले आइतबारदेखि पुनः कारोबार सञ्चालनमा ल्याएसँगै ग्राहकहरूले ठूलो मात्रामा रकम झिकेका हुन्।

Sponsored Advertisement

उक्त साइबर आक्रमणबाट करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरका डिजिटल सम्पत्तिमा असर परेको बताइएको छ। घटनालाई अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकमध्ये एक मानिएको छ। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) लगायतका निकायले यस आक्रमणमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको आरोप लगाएका छन्।

बाइनान्सका अनुसार नोभेम्बर १ मा बिहान ६ बजेदेखि दिउँसो ३ः३० बजेसम्मको अवधिमा ४ अर्ब ६४ करोड ९० लाख डलर बराबरको रकम ग्राहकले झिकेका थिए भने १ अर्ब १० करोड डलर बराबरको रकम जम्मा भएको थियो। यसबाट कुल ३ अर्ब ६४ करोड डलरको खुद बहिर्गमन भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कारोबार पुनः सुरु भएपछि सुरुमा रकम झिक्ने ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको थियो। यद्यपि, पछि निकासीको गति घट्दै गएको र अवस्था अपेक्षाअनुसार स्थिर हुँदै गएको बाइनान्सको भनाइ छ। ग्राहकले झिकेको रकम कम्पनीको कुल १७१ अर्ब डलर बराबरको व्यवस्थापनमा रहेको सम्पत्तिको दुई प्रतिशतभन्दा केही बढी हो।

बाइनान्सले साइबर आक्रमणबाट चोरी भएका सम्पत्तिमध्ये करिब ९५ प्रतिशत बराबरको रकम व्यवस्थापन गरिसकेको जनाएको छ। बाँकी रकम जुटाउन केही समय लाग्न सक्ने भए पनि घटनाबाट भएको सम्पूर्ण आर्थिक क्षति कम्पनीले नै व्यहोर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। यसका लागि कम्पनीले आफ्नो कोष, फ्युचर्स बीमा कोष तथा आपत्कालीन सञ्चिति रकम प्रयोग गरेको जनाएको छ।

यसैबीच, चोरी भएको क्रिप्टोकरेन्सी विभिन्न डिजिटल वालेटमा स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास भइरहेको बताइएको छ। ब्लकचेन विश्लेषण गर्ने संस्था चेनालाइसिसका वरिष्ठ अधिकारी एलेक जेब्रिकका अनुसार आक्रमणकारीहरूले हजारौँ डिजिटल ठेगाना र हजारौँ कारोबारमार्फत चोरीको रकम लुकाउने प्रयास गरिरहेका छन्।

उक्त आक्रमण उत्तर कोरियासँग सम्बन्धित ट्रेडरट्रेटर नामक साइबर अपराधी समूहले गरेको आरोप छ। यो समूहलाई लाजरस समूहका रूपमा पनि चिनिन्छ। यही समूहले सन् २०२५ मा क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट तत्कालीन कीर्तिमानी १ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति चोरी गरेको आरोपसमेत लागेको थियो।

एफबीआईले शनिबार उक्त समूहसँग सम्बन्धित क्रिप्टोकरेन्सी वालेटहरूको सूची सार्वजनिक गर्दै चोरीको रकम ओसारपसारमा प्रयोग हुन सक्ने कारोबार रोक्न सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ। बाइनान्सले पनि प्रभावित डिजिटल सम्पत्तिका जारीकर्ताहरूलाई ती सम्पत्ति रोक्का गर्न आग्रह गरेको जनाएको छ।

कम्पनीका अनुसार प्रारम्भिक अनुसन्धानमा एक इन्जिनियरको ल्यापटपमा पहुँच प्राप्त गरेपछि ह्याकरहरूले अनधिकृत कारोबार गर्न सक्ने बाटो फेला पारेको आशंका गरिएको छ। आक्रमण बाइनान्सको विश्वव्यापी प्लेटफर्म Binance.com मा भएको थियो भने अमेरिकाका ग्राहकलाई सेवा दिने Binance.US प्लेटफर्म प्रभावित नभएको कम्पनीले स्पष्ट पारेको छ।

हाल बिटक्वाइन र इथेरियमसहित दुई दर्जनभन्दा बढी प्रमुख क्रिप्टोकरेन्सीको निकासी सेवा पुनः सञ्चालनमा आएको छ। अन्य सेवा भने सुरक्षा परीक्षण पूरा भएपछि क्रमशः सुरु गरिने बाइनान्सले जनाएको छ।

चीनमा स्थापना भएको बाइनान्सका विश्वभर करोडौँ दर्ता भएका प्रयोगकर्ता छन्। पछिल्लो घटनापछि ग्राहकको ठूलो रकम बाहिरिनुले विश्वव्यापी क्रिप्टोकरेन्सी बजारमा साइबर सुरक्षा र डिजिटल सम्पत्तिको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।