कालीकोट : कालीकोट जिल्लाका तीन पालिका सदरमुकाम जोड्ने सडक नदीका कारणले छेकिएको छ । जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र महावै गाउँपालिका मुकाम जोड्ने सडक नदीका कारणले छेकिएका हुन् ।
पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका कर्णाली नदीमा पुल नबन्दा र महावै गाउँपालिकामा तिला नदीमा पुल नबन्दा पालिका मुकाममा सडकले जोडिन सकेका छैनन् ।
जिल्लाका नौं स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका मुकाममा अझै पनि सडक नपुगेको जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावतले बताइन् ।
‘स्थानीय तह सञ्चालनमा आएको १० वर्ष पुग्नै लाग्दा तीन वटा पालिकाको मुकाममा सडक पुग्न सकेको छैन्,’ उनले भनिन्,‘अन्य स्थानीय तहमा सडक सञ्जालले छोए पनि तीन वटा पालिकाको मुकाममा तिला नदी र कर्णाली नदीका कारणले सडकले छुनमा छेकेको छ ।’
पलाँता गाउँपालिकाभित्रका सबै वडा तहसम्म सडक विस्तार भए पनि कर्णाली नदीमा कारणले सडकले गाउँपालिका जोडिन नसकेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए ।
‘कर्णाली नदी पारिका कर्णाली करिडोर सडक रहेको छ । कर्णाली नदीमा पुल नबन्दा हाम्रो गाउँपालिकामा सडकले छुन सकेको छैन्,’ उनले भने, ‘गाउँपालिका भित्रका नौ वटै वडामा सडकले सञ्जालले छोएको भएपनि राष्ट्रिय सडकसँग अझैँ गाउँपालिका जोडिन सकेको छैन् ।’
त्यस्तै, पचालझरना गाउँपालिका मुकामसहित वडा नं. १, २, ३, ४ र ५ कर्णाली नदीकै कारणले राष्ट्रिय सडक सञ्जाल जोडिन नसकेको गाउँपालिका वडा नं. ६, ७, ८ र ९ नम्बर वडा कर्णाली करिडोरका कारणले सडक सञ्जालसँग जोडिएको गाउँपालिका अध्यक्ष देवजंग शाहीले बताए ।
‘कर्णाली नदीमा पक्की पुल बनाउनका लागि ठेक्का भएको लामो समय बित्दा पनि काम हुन सकेको छैन् । त्यसै कारणले गाउँपालिकाको मुकामसहित पाँच वडा सडकको पहुँचबाहिर रहेका छन्,’ उनले भने, ‘कर्णाली नदीमा पुल बनाउनका लागि पटक पटक ठेकेदार कम्पनी र पुल बनाउने कार्यालयसँग समन्वय गरेका छौं । तर, अझैँसम्म काम हुन सकेको छैन् ।’
त्यस्तै, महावै गाउँपालिकाको मुकाम जोड्ने सडक निर्माणका लागि अहिले काम भइरहेको यसै बर्षमा गाउँपालिका सडक सञ्जालसँग जोडिने गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
‘चालू आर्थिक बर्ष २०८३/८४ भित्र केन्द्रसम्म सडक पुर्याउने योजना रहेको छ । तिला नदीमा पक्की पुलको ठेक्का २०७६ सालमा लागेको भए पनि अहिलेसम्म काम नगर्दा सेरावाडामा बेलिब्रिज बनाउनु परेको छ,’ उनले भने, ‘अहिले दाता, प्रदेश र संघीय सरकारको सहयोगमा नदी वारीपट्टिको चट्टान फुटाउने काम भइरहेको छ । चालू आर्थिक वर्षमा नै गाउँपालिका जोड्ने सडक बन्छ ।’
गाउँपालिका जोड्ने सडक नबन्दा नागरिकहरुलाई सडक पहुँच मार्गमा पुग्नका लागि समस्या भएको त्यसका लागि तिनै तहका सरकारले पहल थाल्नु पर्ने पचालझरना गाउँपालिका–५ का स्थानीय रजबहादुर शाहीले बताए ।
‘स्थानीय सरकार बनेको लामो समय बन्दा पनि पालिकाका केही ठाउँ सडकले जोडिन सकेका छैनन्,’ उनले भने, ‘त्यसका लागि तिनै तहका सरकारले कामको थालनी गर्नुपर्छ ।’