काठमाडौं : पछिल्ला वर्षहरूमा सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राइभेट लिमिटेडको व्यापार निरन्तर रुपमा घट्दै गएको छ । सन् २०२६ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५६ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ मा ५६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२४ मा ६६ करोड ४० लाख, सन् २०२३ मा ७६ करोड ८० लाख र सन् २०२२ मा ८२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको आम्दानी घट्नुमा बढ्दो प्रतिस्पर्धा, आन्तरिक रेमिट्यान्स कारोबारसम्बन्धी नियामकीय प्रतिबन्ध तथा नगद कारोबारको सट्टा रकम सीधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्नुजस्ता कारण रहेको रेटिङ प्रतिवेदनले जनाएको छ ।
बैंक खातामा सीधै रकम जम्मा गर्ने प्रणालीले सेवाग्राहीलाई सहजता प्रदान गरे पनि कम्पनीले प्राप्त गर्ने कमिसन आम्दानीमा दबाब सिर्जना गरेको जनाइएको छ । पछिल्लो आर्थिक वर्षको तथ्यांक लेखापरीक्षण नभएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२६ मा कम्पनीको कुल आम्दानीमध्ये २६ प्रतिशत कमिसनबाट र ७४ प्रतिशत विदेशी मुद्रा विनिमयबाट प्राप्त भएको छ । यद्यपी कम्पनीको आम्दानीमा गिरावट आए पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने सुधार देखिएको छ ।
सन् २०२५ मा २३.७९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा बढेर २७.६५ प्रतिशत पुगेको छ । यसअघि सन् २०२४ मा यो सूचक ३६.३८ प्रतिशत रहेको थियो। पछिल्लो सुधारले सञ्चालन आम्दानी घटिरहेको अवस्थामा पनि कम्पनीले सञ्चालन खर्च र नाफाको अनुपात व्यवस्थापन गर्न केही सफलता हासिल गरेको छ ।
कम्पनीको ऋण भुक्तानी क्षमता पनि सन्तोषजनक रहेको प्रतिवेदनले देखाएको छ । सन् २०२५ मा ऋण सेवा भुक्तानी अनुपात (डीएससीआर) ४.२९ गुणा र ब्याज भुक्तानी क्षमता अनुपात ४.०० गुणा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यी अनुपात क्रमशः ६.०६ गुणा र ५.०४ गुणा थिए । वित्तीय लागत बढेका कारण यी सूचकमा केही कमी आए पनि कम्पनीको ऋण तथा ब्याज भुक्तानी क्षमता पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, कम्पनीको चालु अनुपात सन् २०२५ मा ०.९८ गुणा रहेकोमा सन् २०२६ मा बढेर १.०५ गुणा पुगेको छ । कम्पनीको समग्र गियरिङ अनुपात पनि शून्य रहेको प्रतिवेदनमा उल्लेख छ । तर, कुल बाह्य दायित्व र मूर्त नेटवर्थको अनुपात भने सन् २०२५ को ४.०० गुणाबाट घटेर सन् २०२६ मा ३.४४ गुणामा आएको छ ।
कम्पनीले एक अर्ब रुपैयाँसम्मको अल्पकालीन बैंकिङ सुविधाका लागि एटुप्लस क्रेडिट रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको अल्पकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमताको मूल्याङ्कन गर्छ ।
नेपालको रेमिट्यान्स क्षेत्रमा १९ वर्षभन्दा लामो अनुभव रहेको सिटी एक्सप्रेसले देशभर २५ हजारभन्दा बढी एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ । नेपाल भित्रिने रेमिट्यान्स कारोबारमा कम्पनीको बजार हिस्सा १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २००७ जुलाई ११ मा स्थापना भएको सिटी एक्सप्रेस नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनी हो । कम्पनीले विभिन्न देश तथा मुद्रामा आधारित अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीको चुक्ता पुँजी सन् २०२६ जुलाई मध्यसम्म ५० करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीले रेमिट्यान्स व्यवसायसँग सम्बन्धित अन्य वित्तीय तथा प्रविधि क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज प्राइभेट लिमिटेडमा ८ करोड ७२ लाख रुपैयाँ र सिटी वालेट प्राइभेट लिमिटेडमा १० करोड रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनी विविध व्यवसायमा संलग्न सिटी एक्सप्रेस ग्रुपको एक हिस्सा हो र नेपालको विप्रेषण क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ। विभिन्न देश तथा मुद्रामा अन्तर्राष्ट्रिय साझेदारीमार्फत कम्पनीले आफ्ना सेवाहरू विस्तार गरेको छ।
कम्पनीको मुख्य कार्यालय काठमाडौंको कमलादीमा अवस्थित छ। कम्पनीमा डोलराज शर्मा, चन्द्र तण्डन, हेमबहादुर गुरुङ र महेश कुमार श्रेष्ठको जनही २० प्रतिशत शेयर स्वामित्व रहेको छ भने सुनील पानी गौतमको १५.५० प्रतिशत र कृष्णराज पौडेलको ४.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।