भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा संचालित गोठेसिं होमस्टे पर्यटक र स्थानीयको रोजाईमा परेको ठाउँ हो । यहाँ होमस्टे संचालनमा आएसँगै अर्गानिक सत्कारले त्यहाँ पर्यटकलाई समेत लोभ्याउन थालेको छ ।
नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सुचिकृत गरेसंगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा पनि बृद्धि हुन थालेको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाईसंग टेम्केडाँडा, चखेवाभञ्ज्याङ घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ प्रमुख रोजाईमा पर्ने गरेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनले मुन्दुम पदमार्ग पुर्वकै प्रमुख गन्तव्य भएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा पालिका पनि लागेकाे बताए ।
यहाँ आउने तथा बस्नेहरुका लागि पुस्तकहरुको समेत ब्यवस्थापन गरिएको छ । यहाँ बिभिन्न पुस्तकहरु समेत ब्यवस्थापन गरेर अध्ययनको समेत ब्यवस्था गरिएको छ । टेम्केमैयुङ गाउँपालिका वडा नम्वर २, छिनामखुको श्यामशिलामा रहेको होमस्टे भोजपुर सदरमुकामदेखि करिव ४० किलोमिटर पश्चिममा रहेको छ । स्थानीय प्रकाश राईले करिब २६ लाखको निजी लगानीमा व्यवसायिक होमस्टे सञ्चालन गरेका छन् ।
आफनै ५७ रोपनी जग्गामा सञ्चालन गरेको होमस्टेमा टेम्के, चखेवाडाँडाको अवलोकन पछि विश्राम गर्ने पर्यटकको आगमनमा बृद्धि हुन थालेको संचालक राईले बताए । होमस्टे खोलेपछि यहाँको पर्यटन प्रर्बद्धनको विकाससंगै यसले आम्दानीको श्रोत पनि बढाएको राईले बताए ।
गाउँपालिका क्षेत्रमा नै पहिलो पटक खुलेको होमस्टे अन्तरिक तथा बाहय पर्यटक भित्रयाउने राम्रो माध्यम बनेपछि गाउँपालिका पनि त्यसको संरक्षण र बिकासमा जुटेको छ । होमस्टेलाई प्रबद्र्धन र प्रोत्साहन गर्न टेम्के मैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको पहुँच समेत पुर्याएको छ । गाउँपालिकाले होमस्टेसम्म बिजुलीबत्ती र सडक पुर्याउनमा समेत सहयोग गरेको थियो ।