काठमाडौ : लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बिहिवार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०८२/०८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
यसका साथै सभले आव २०८३/०८४ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक एन.बि.एस.एम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
साथै, आषाढ मसान्त २०८३ को वासलात बमोजिम प्रति शेयर आम्दानी १२.६६ रहेकोमा वितरण योग्य आम्दानी १२.८६७ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् रु.५.३८ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि यस कम्पनीले नेपालको धितोपत्र बजारको विकास, बिस्तार तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
कम्पनीले करिब ६ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड गरी करिब ७ अर्ब बराबरको म्युचुअल फण्ड सफलतापुर्वक संचालन गर्दै आएको छ । साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत १ अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले निर्धारित लक्ष्य अनुरुप पूँजी संकलन गरी दिगो उर्जा (Sustainable Energy) का क्षेत्रहरुमा लगानी गर्दै आइरहेकोे छ ।
लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, Operating Principles for Impact Management (Impact Principles) मा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो ।
यो एक विश्वव्यापी संस्था हो, जसको सिद्धान्तले सामाजिक र वातावरणीय प्रभाव सहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राख्दछ । यो सदस्यताले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको दिगो र उत्तरदायी लगानी प्रतिको प्रतिबद्धतालाई दर्शाउँछ ।