काठमाडौं : अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लेटिनम प्रायोजकमा थप दुई कम्पनी जोडिएका छन्। आधुनिक कृषि प्रविधि तथा उपकरणको प्रवर्द्धनमा सक्रिय नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि प्रदर्शनीको प्लेटिनम प्रायोजक बनेका हुन्। यसअघि जी-सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजक बनेको थियो।
आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ प्रदर्शनीमा यी तीनवटै कम्पनीले सहकार्य गर्ने भएका छन्। ‘कृषिमा यन्त्र र प्रविधि: कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
विश्वप्रसिद्ध कम्पनीहरूका आधुनिक कृषि यन्त्र तथा उपकरण नेपाली किसानहरूमाझ उपलब्ध गराउँदै आएको नेपाल ट्रेड होस्ट प्रालि अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लाटिनम प्रायोजक बनेको छ।
कम्पनीले साना, मझौला तथा ठूला आकारका विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरण नेपाली किसानहरूमाझ उपलब्ध गराउँदै आएको छ। आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्दै कृषि कार्यलाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
त्यस्तै, १५ वर्षभन्दा बढी अनुभव हासिल गरेको शलोम एग्रिकल्चर प्रालिले नेपाली कृषकहरूमाझ आधुनिक कृषि प्रविधि तथा सामग्रीको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले मल्चिङ, ग्रीनहाउस, सेड नेट, असिना छेक्ने जाली, थोपा सिँचाइ, फगर सिँचाइ तथा स्प्रिंकलर सिँचाइ प्रणालीजस्ता आधुनिक कृषि प्रविधि उपलब्ध गराउँदै आएको छ।
त्यसैगरी, कम्पनीले कोकोपिट, पिटमस लगायतका कृषि सब्सट्रेट तथा बायोमिनरल मलजस्ता कृषि सामग्रीको प्रवर्द्धन र आपूर्तिमा समेत काम गर्दै आएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि उत्पादनलाई प्रभावकारी बनाउने र कृषकलाई प्रविधिमैत्री खेती प्रणालीतर्फ प्रोत्साहित गर्ने कार्यमा कम्पनीले योगदान पुर्याउँदै आएको छ ।
यसअघि प्लेटिनम प्रायोजक बनेको जी-सेभेन एग्रिकल्चर प्रालि नेपालमा आधुनिक कृषि प्रविधि विस्तारमा सक्रिय कम्पनी हो। विशेषगरी थोपा सिँचाइ, स्प्रिंकलर सिँचाइ र आधुनिक ग्रीनहाउस प्रविधिमा कम्पनीले विशिष्ट पहिचान बनाएको छ।
इजरायलमा सात वर्षभन्दा बढी समय कृषि क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरी सन् २०११ मा नेपाल फर्किएका अर्जुन प्रसाद लुइँटेलसहितको टोलीले कम्पनी स्थापना गरेको हो। कम्पनीले ललितपुरको हरिसिद्धीस्थित आफ्नै फेब्रिकेसन सुविधामार्फत आधुनिक ग्रीनहाउस निर्माण तथा उत्पादन गर्दै आएको छ।
हाल जी-सेभेनले नेपालका ६५ भन्दा बढी जिल्लामा आफ्ना प्रविधिको पहुँच विस्तार गरेको छ। कम्पनीमा ६० जनाभन्दा बढी दक्ष प्राविधिक तथा विशेषज्ञ कार्यरत छन् भने देशभर ६० भन्दा बढी डिलर तथा सेवा साझेदारमार्फत किसानलाई सेवा प्रदान गरिँदै आएको छ।
कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनी कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सञ्चालन हुनेछ।
बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहने प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन्।
प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। नामियाका सचिव श्रीकृष्ण अधिकारीका अनुसार प्रदर्शनीमार्फत किसान, कृषि उद्यमी तथा व्यवसायीलाई आधुनिक कृषि यन्त्र, उपकरण र नवीनतम प्रविधिबारे जानकारी उपलब्ध गराइनेछ। यसले कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन तथा कृषि यान्त्रीकरणको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।