काठमाडौं : सरकारले आजदेखि दशैं लक्षित अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले आज अर्थात् असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ।
केही जिल्लाका यात्रु भने विहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरुका यात्रुहरु विहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए।
दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ।