आर्थिक क्रान्तिको नेतृत्व गर्ने कांग्रेस बनाउने एजेन्डासहित विनोद चौधरीको उम्मेदवारी

आर्थिक क्रान्तिको नेतृत्व गर्ने कांग्रेस बनाउने एजेन्डासहित विनोद चौधरीको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदमा विनोद चौधरीले उम्मेदवारी दिएका छन्। उनले आफ्नो उम्मेदवारीलाई पार्टीको नेतृत्वमा पुस्तान्तरण, आर्थिक विकासलाई राजनीतिको केन्द्रमा स्थापित गर्ने र नेपाली कांग्रेसलाई समयअनुकूल आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि सारेका छन्।

Sponsored Advertisement

चौधरीले निराशातर्फ अघि बढिरहेको नेपाली समाजमा नयाँ आशा र विश्वास सिर्जना गर्न, कांग्रेसको नेतृत्वमा युवा पुस्तालाई स्थापित गर्न तथा राजनीतिक स्वतन्त्रताको नेतृत्व गरेको गौरवशाली इतिहास बोकेको कांग्रेसलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गर्न उम्मेदवारी दिएको बताएका छन्।

उनले राजनीति र अर्थनीतिलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। बीपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्णशमशेर जबराको आर्थिक विकाससम्बन्धी नीतिलाई संयोजन गर्दै कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको चौधरीले बताएका छन्। पार्टी सभापति गगनकुमार थापाले अघि सारेको ‘समुन्नत नेपाल’ निर्माणको सोचलाई सही अर्थमा कार्यान्वयन गर्ने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

आर्थिक सुधार र लगानीलाई प्राथमिकता

२०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरु गरेको आर्थिक सुधारको प्रक्रियालाई बीचमा अवरुद्ध भएको अवस्थामा वर्तमान समयको आवश्यकता र चुनौतीअनुसार तीव्र गतिमा अघि बढाउनुपर्ने चौधरीको धारणा छ। आर्थिक विकासलाई राजनीतिको केन्द्रमा राख्दै समावेशी विकास र तीव्र आर्थिक वृद्धिदरलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउनुपर्ने उनले बताएका छन्।

चौधरीले आन्तरिक लगानीकर्तालाई विना अवरोध लगानी गर्ने वातावरण निर्माण गर्ने तथा नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण केन्द्र बनाउने एजेन्डा अघि सारेका छन्। भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

हरेक वर्ष रोजगारी बजारमा प्रवेश गर्ने करिब साढे पाँच लाख युवालाई देशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने आधार तयार गर्ने उनको प्रतिबद्धता छ। प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गर्दै क्षेत्रीय आर्थिक असमानता घटाउने र आर्थिक गतिविधिलाई देशका सबै भूगोलमा विस्तार गर्ने उनको योजना छ।

युवा, प्रविधि र डिजिटल अर्थतन्त्र

कांग्रेसलाई वर्तमान विश्व परिवेशअनुकूल रूपान्तरण भएको आधुनिक तथा प्रविधियुक्त पार्टीका रूपमा स्थापित गर्ने चौधरीको एजेन्डा छ। देशका युवालाई सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोड्दै नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने उनले बताएका छन्।

युवाका लागि पर्याप्त स्टार्टअपका अवसर सिर्जना गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा नयाँ पुस्ताका सिर्जनशील क्षमता र प्रविधिलाई आर्थिक विकाससँग जोड्ने उनको योजना छ।

जेन–जी पुस्ताको आन्दोलनले उठाएका आकांक्षा र अपेक्षालाई आत्मसात् गर्दै युवाका सवाललाई राजनीतिको मूलधारमा सम्बोधन गर्नुपर्ने चौधरीको धारणा छ। युवाको ऊर्जा र सिर्जनशीलतालाई देश निर्माणमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताएका छन्।

समावेशी आर्थिक विकासमा जोड

चौधरीले सीमान्तकृत तथा पिछडिएका समुदायलाई आर्थिक अवसरमा जोड्ने विषयलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन्। उद्यमशीलता, सीप विकास र वित्तीय पहुँच विस्तारमार्फत आर्थिक रूपमा सशक्त बनाउँदै विकासको लाभ सबै समुदायसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ।

प्रदेश तथा स्थानीय तहमा उद्योग, लगानी र रोजगारीका अवसर विस्तार गर्दै आर्थिक असमानता घटाउने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने नीति आवश्यक रहेको उनले बताएका छन्।

पुस्तान्तरणसँगै आधुनिक कांग्रेस

पार्टीभित्र पुस्तान्तरणसँगै पुस्ताबीच सहकार्यलाई अघि बढाउने चौधरीको एजेन्डा छ। अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा संयोजन गर्दै आधुनिक कांग्रेस निर्माण गर्नुपर्ने उनले बताएका छन्।

आन्तरिक लोकतन्त्र, पारदर्शिता, कार्यकर्ताको सम्मान र नागरिकप्रतिको जवाफदेहितालाई पार्टी संस्कृतिको आधार बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

चौधरीले आफ्नो उम्मेदवारीमार्फत कांग्रेसको संगठनात्मक रूपान्तरणसँगै आर्थिक विकास, लगानी, रोजगारी, प्रविधि, उद्यमशीलता, सुशासन र समावेशी विकासका विषयलाई पार्टीको प्रमुख राजनीतिक एजेन्डाका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेका छन्।