स्थानीय तहदेखि राष्ट्रिय नेतृत्वको यात्रा
काठमाडौं : नेपाली काँग्रेसको जारी १५औँ महाधिवेशनमा धादिङका नेता भीमप्रसाद ढुंगानाले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिएका छन्।
वि.सं. २०३७ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहेका ढुंगाना नीलकण्ठ नगरपालिकाका वर्तमान मेयरसमेत हुन्। लामो राजनीतिक तथा प्रशासनिक अनुभव भएका ढुंगाना धादिङमा विकासका कामसँग जोडिएका नेताका रूपमा परिचित छन्।
वि.सं. २०२३ सालमा धादिङको तत्कालीन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुंगाना कक्षा ७ मा अध्ययनरत रहँदै २०३७ सालमा नेपाल विद्यार्थी संघ धादिङको जिल्ला सदस्य बनेका थिए। कक्षा ९ मा अध्ययन गर्दा २०३९ सालमा १६ वर्षको उमेरमै नेविसंघ धादिङको अध्यक्ष बनेका उनी २०४२ सालको सत्याग्रहका क्रममा पक्राउ परेका थिए। त्यस क्रममा उनले नुवाकोटमा पाँच महिना जेल जीवन बिताएका थिए। २०४६ सालअघि पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहँदा उनी पटक–पटक हिरासत र जेलसमेत परेका थिए।
२०४९ सालको स्थानीय निकाय निर्वाचनपछि २६ वर्षको उमेरमा तत्कालीन मुरलीभञ्ज्याङ गाविसको अध्यक्ष बनेका ढुंगाना २०५४ सालको स्थानीय निर्वाचनमा पुनः सोही गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।
२०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि हुँदै २०६० सालदेखि फन बोर्डको बोर्ड अफ डाइरेक्टर तथा अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।
ढुंगाना २०४८ सालदेखि नेपाली काँग्रेस धादिङका विभिन्न अधिवेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्। जिल्लामा खानेपानी, सडक, झोलुङ्गे पुललगायतका पूर्वाधार निर्माणमा योगदान पुर्याउँदै आएका उनी विकासका मुद्दामा सक्रिय नेताका रूपमा परिचित छन्।
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट नीलकण्ठ नगरपालिकाको मेयरमा १३ हजार १६६ मत प्राप्त गर्दै निर्वाचित भएका ढुंगाना २०७९ को स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा १४ हजार ५७५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका थिए।
२०७९ पुसमा सम्पन्न नेपाल नगरपालिका संघको आठौँ महाधिवेशनबाट उनी नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका थिए। संघको अध्यक्षका रूपमा उनले स्थानीय सरकारका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाउँदै आएका छन्।
नेपाली काँग्रेसको संगठन विस्तार र पार्टीलाई थप बलियो बनाउने उद्देश्यसहित ढुंगानाले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिएका हुन्।
नगरपालिका संघको नेतृत्वमार्फत स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वयकारी भूमिका निर्वाह गरेको अनुभव ढुंगानासँग छ। त्यस्तै, नीलकण्ठ नगरपालिकाको नेतृत्व गर्दै नगरपालिकालाई लगातार तीन पटक नेपालकै सर्वोत्कृष्ट नगरपालिका बनाउन सफल भएको अनुभव पनि उनीसँग छ।
यही अनुभव र सफलतालाई आधार बनाउँदै ढुंगानाले आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा अघि सारेका छन्।