आयात घटाएर आन्तरिक उत्पादन बढाउने कांग्रेसको नीति 

आयात घटाएर आन्तरिक उत्पादन बढाउने कांग्रेसको नीति 

काठमाडौं : नेपाली कांग्रेसले आयातमा निर्भर अर्थतन्त्रको संरचना बदल्दै आन्तरिक उत्पादन र उत्पादकत्व बढाउने आर्थिक नीति अघि सारेको छ । कांग्रेसको प्रस्तावमा उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिइएको छ ।

Sponsored Advertisement

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ प्रस्तावले अहिले नेपालको अर्थतन्त्रमा देखिएका प्रमुख चुनौतीमा कमजोर उत्पादकत्व र आयात निर्भरतालाई पनि समेटेको छ ।

प्रविधि तथा स्रोतमा पहुँचको खाडल र बढ्दो सामाजिक सुरक्षाको दायित्वसँगै यी समस्यालाई सम्बोधन गर्न आर्थिक विकासको नयाँ ढाँचा आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

कांग्रेसले परम्परागत रूपमा राज्यको प्रत्यक्ष नियन्त्रण बढाउनेभन्दा बजारको गतिशीलता र राज्यको सक्षम नियमनलाई सँगसँगै अघि बढाउने आर्थिक दृष्टिकोण प्रस्ताव गरेको छ । बजारले उत्पादन, सम्पत्ति र रोजगारी सिर्जना गर्ने तथा राज्यले नागरिकको क्षमता विकास, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने उसको अवधारणा छ ।

प्रस्तावमा निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहकका रूपमा स्थापित गर्ने नीति अघि सारिएको छ । निजी लगानी बढाउन नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरण निर्माण गर्ने तथा सरकारलाई कुशल र पारदर्शी नियामकको भूमिकामा सीमित गर्ने प्रस्ताव गरिएको छ । 

कांग्रेसले उत्पादनमुखी अर्थतन्त्रलाई आर्थिक नीतिको तीन प्रमुख आधारमध्ये एक मानेको छ । त्यसअन्तर्गत उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धिलाई प्राथमिकता दिने उल्लेख छ ।

यसले आयातमा निर्भर उपभोगमुखी संरचनाबाट उत्पादन र रोजगारी सिर्जना गर्ने अर्थतन्त्रतर्फ जाने कांग्रेसको नीतिगत दिशा देखाउँछ ।

कांग्रेसले आन्तरिक उत्पादन विस्तारको आधारका रूपमा युवाको उद्यमशीलतालाई पनि अघि सारेको छ । प्रस्तावमा युवालाई श्रम बजारका कामदारका रूपमा मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाका वास्तविक साझेदार बनाउने उल्लेख छ ।

थप समाचार