‘लेमन ट्री प्रिमियर’ को आम्दानी २५ प्रतिशतले बढ्यो, साढे ४९ करोडको आईपीओ ल्याउँदै 

‘लेमन ट्री प्रिमियर’ को आम्दानी २५ प्रतिशतले बढ्यो, साढे ४९ करोडको आईपीओ ल्याउँदै 

काठमाडौं : बुढानिलकण्ठ क्षेत्रमा सञ्चालनमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियरको आम्दानी २५.४२ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२६ को अपरिष्कृत विवरण अनुसार २९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

Sponsored Advertisement

यसअघि कम्पनीले सन् २०२४ मा ४ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । होटलको कोठा उपयोग दर बढेसँगै उपलब्ध कोठाबाट प्राप्त हुने औसत आम्दानीमा पनि सुधार आएको हो ।

कम्पनीले सन् २०२५ को डिसेम्बरदेखि क्यासिनोसँग गरिएको सम्झौतामार्फत भाडा आम्दानीको नयाँ स्रोतसमेत थपेको छ । यसका साथै सञ्चालन खर्चमा २८ प्रतिशत कमी ल्याउन सफल भएपछि कम्पनीको सञ्चालन नाफा दरमा उल्लेखनीय सुधार देखिएको छ ।

आर्थिक वर्ष २०२५ मा ३ प्रतिशत ऋणात्मक रहेको सञ्चालन नाफा दर आर्थिक वर्ष २०२६ मा ३० प्रतिशत पुगेको छ । तर सञ्चालन नाफामा सुधार भए पनि उच्च ब्याज तथा सम्पत्तिको मूल्यह्रास खर्चका कारण कम्पनी अझै खुद नाफामा पुग्न सकेको छैन । सन् २०२६ मा कम्पनीको खुद नाफा दर ३.२ प्रतिशत ऋणात्मक रहेको छ । 

कम्पनीका प्रतिफलका सूचकहरू पनि कमजोर रहेका छन् । यस अवधिमा खुद सम्पत्तिमा प्रतिफल ०.६ प्रतिशत र लगानी गरिएको पुँजीमा प्रतिफल करिब १.९ प्रतिशत रहेकोे जनाइएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको ८८ प्रतिशत ऋणात्मक खुद नाफा दरको तुलनामा भने सुधार देखिएको छ ।

कम्पनीको ऋणभारमा भने उल्लेखनीय कमी आएको छ । सन् २०२५ को १.३ गुणा रहेको कुल ऋण तथा खुद सम्पत्तिको अनुपात सन् २०२६ मा घटेर करिब ०.५ गुणामा आएको छ । कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम प्रयोग गरी अघिल्लो वर्ष कायम रहेको सावधिक ऋणको ३६ प्रतिशत भुक्तानी गरेपछि ऋणभार घटेको हो । 

तर ऋणभार घटे पनि कम्पनीको ऋण तिर्ने क्षमता अझै दबाबमा रहेको छ । सन् २०२६ मा कम्पनीको ऋण सेवा कभरेज अनुपात ०.५ गुणा मात्र रहेको छ  । कम्पनीको कुल ऋण तथा ब्याज, कर, ह्रासकट्टीपूर्व सञ्चालन नाफाको अनुपात पनि १० गुणा रहेको छ । सन् २०२६ मा कम्पनीको अकुपेन्सी दर ४९ प्रतिशत रहेको छ । सन् २०२५ मा अकुपेन्सी दर ३६ प्रतिशत रहेको थियो । 

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सन् २०२४ को मार्च महिनादेखि आंशिक रूपमा होटल सञ्चालन सुरु गरेको थियो भने सोही वर्षको सेप्टेम्बरसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो । पूर्ण सञ्चालनपछि होटलको आम्दानीमा वृद्धि देखिएको हो । 

होटल निर्माणमा दुई अर्ब ६० करोड रुपैयाँ लगानी भएको छ । सुरुवाती लागत अनुमान दुई अर्ब ४० करोड रहेको थियो । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण होटल निर्माण लागत बढेको कम्पनीले जनाएको छ । 

होटल करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको छ र यहाँ १०२ कोठा रहेका छन् । जसमा ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट, ४ वटा बिजनेस सुइट र २ वटा प्रेसिडेन्टल सुइट समावेश छन् कुल १९० बेड क्षमता रहेको  होटलले उच्चस्तरीय सुविधा प्रदान गर्दै आएको छ । 

होटलमा अल–डे डाइनिङ रेस्टुरेन्ट, स्पेसियालिटी रेस्टुरेन्ट, रुफटप रेस्टुरेन्ट तथा बार, हेल्थ क्लब, स्वीमिङ पुल, स्पा, योग तथा ध्यान केन्द्र लगायतका सेवा उपलब्ध छन् । साथै, १७७ र ३१४ वर्गमिटरका दुईवटा बैंक्वेट हल तथा तीनवटा मिटिङ रुम रहेका छन् । 

निकट भविष्यमा सञ्चालनमा ल्याउने लक्ष्यसहित करिब १८ हजार वर्ग फिट क्षेत्रफलमा क्यासिनो हल पनि निर्माणाधीन अवस्थामा रहेको छ । लेमन ट्री एक प्रतिष्ठित भारतीय होटल ब्रान्ड हो । विश्वका ८० भन्दा बढी देशमा १५० भन्दा बढी होटल सञ्चालनमा रहेका छन् ।

पूँजी वृद्धिका लागि कम्पनीले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४९ करोड ५० लाख रुपैयाँ बराबरका ४९ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।

वि.सं २०७५ सालमा निजी कम्पनीका रूपमा स्थापना भई वि.सं २०७८ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओपछि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । कम्पनीका अध्यक्ष अम्बिका पौडेल रहेका छन् । उनी शेयर लगानीकर्ता पनि हुन् ।
 

थप समाचार