सेलेघाट-साँघुटार सडक निर्माणमा भएको ढिलाइप्रति सांसद डा.बुढाथोकीद्वारा सरकारको ध्यानाकर्षण

सेलेघाट-साँघुटार सडक निर्माणमा भएको ढिलाइप्रति सांसद डा.बुढाथोकीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अर्थसमितिका सभापति डा. कृष्णहरि बुढाथोकीले रामेछापको २१ किलोमिटर लामो सेलेघाट–साँघुटार सडक निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बुढाथोकीले सडक निर्माणका लागि पाँचपटक म्याद थपिए पनि हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको बताए। पछिल्लोपटक सरकारले थपेको म्याद सकिन अब करिब ६ महिना मात्रै बाँकी रहेको उनको भनाइ छ।

बुढाथोकीका अनुसार सडक निर्माणमा भइरहेको ढिलाइबारे आफूले भौतिक पूर्वाधारमन्त्रीलाई पटक–पटक जानकारी गराउनुका साथै लिखित ध्यानाकर्षणसमेत बुझाइसकेका छन्।

उनले सेलेघाट-साँघुटार सडकको समस्या एउटा आयोजनामा मात्र सीमित नरहेको बताए। देशका विकास आयोजना लामो समयसम्म अलपत्र पर्ने, पटक–पटक म्याद थपिने तर निर्माण सम्पन्न नहुने प्रवृत्ति देखिएको उनको भनाइ छ।

यस्ता आयोजनाका कारण राज्यको स्रोत र समयसँगै जनताको अपेक्षामाथि समेत प्रत्यक्ष असर परिरहेको उनले बताए।

बुढाथोकीले अलपत्र, रुग्ण तथा लामो समयदेखि सम्पन्न हुन नसकेका विकास आयोजनालाई ‘क्रिटिकल आयोजना’ का रूपमा वर्गीकरण गर्न सरकारसँग आग्रह गरे। त्यस्ता आयोजनालाई समयबद्ध रूपमा सम्पन्न गर्न विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

अलपत्र आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्ने गरी सरकारले विशेष पहल गर्नुपर्ने उनको माग छ।