विश्वास, प्रविधि र रूपान्तरण : सहकारीको भविष्यको आधार

विश्वास, प्रविधि र रूपान्तरण : सहकारीको भविष्यको आधार

समयको स्वाभाविक विकास क्रमलाई पछि पार्दै आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ । कल्पना भन्दा बाहिरको कल्पना गरिँदै छ । अपेक्षाहरुलाई पछि छोड्दै उपलब्धि निकै नै अगाडी गईरहेको देखिन्छ ।

परिक्षणबाट प्रमाणित भई प्रयोगमा आएका विषयहरुलाई एकै पटमा विश्वास गर्न कठिन सावित भै रहेका छन् । प्रविधिको विकासले मानिसको जीवनशैली, व्यवसाय सञ्चालनको तौरतरिका, सेवा प्रवाह र संस्थागत व्यवस्थापनका परम्परागत अभ्यासहरूलाई व्यापक रूपमा परिवर्तन गरेको छ ।

विशेषगरी वित्तीय तथा सहकारी क्षेत्रमा प्रविधिको प्रयोग अब विकल्प नभई आवश्यकता बनिसकेको छ  । तर प्रविधि जति नै आधुनिक र प्रभावकारी भए पनि त्यसको वास्तविक सफलता विश्वासमा निर्भर हुन्छ । त्यसैले आजको समयको महत्वपूर्ण सम्बन्ध हो- विश्वास, प्रविधि र रूपान्तरण (Trust, Technology and Transformation) ।
यसैको पृष्ठभूमिमा अब केही कुरा गरौं विश्वासको

विश्वास (Trust) : संस्थाको आधार

कोही कसैमाथि विश्वास गर्न विश्वास चाहिन्छ । कुनै पनि सहकारी संस्था दीर्घकालीन रूपमा सफल हुनका लागि सदस्य र समुदायको विश्वास सबैभन्दा महत्वपूर्ण पूँजी हो । विशेषगरी बचत तथा ऋण सहकारी संस्थाको सम्बन्ध सदस्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । सदस्यले आफ्नो बचत संस्थालाई सुम्पिदा उसले केवल रकम मात्र हस्तान्तरण गरिरहेको हुँदैन, आफ्नो मेहनत, भविष्यको योजना र संस्थाप्रतिको भरोसा र विश्वास पनि सुम्पिरहेको हुन्छ ।

विश्वास एकै दिनमा निर्माण हुँदैन । पारदर्शिता, जवाफदेहिता, इमानदारी, प्रभावकारी सेवा, वित्तीय अनुशासन र प्रतिबद्ध व्यवहारबाट विश्वास क्रमशः निर्माण हुन्छ । संस्थाले गरेका निर्णय, वित्तीय कारोबार, सूचना प्रवाह र सेवा प्रक्रियामा स्पष्टता तथा पारदर्शिता कायम गर्न सकेमा सदस्यको विश्वास अझ बलियो हुँदै जान्छ ।

त्यसैले सहकारी संस्थाका लागि विश्वास कुनै अमूर्त अवधारणा मात्र होइन, यो संस्थाको दीर्घकालीन स्थायित्व र विकासको आधार हो ।

प्रविधि (Technology) : विश्वासलाई बलियो बनाउने माध्यम

प्रविधि आधुनिक समाजको विकास र रूपान्तरणको प्रमुख आधार बनेको छ । यसले हामीले सञ्चार गर्ने, काम गर्ने, सिक्ने, व्यवसाय सञ्चालन गर्ने र दैनिक जीवनका समस्याहरू समाधान गर्ने तरिकामा ठूलो परिवर्तन ल्याएको छ । मोबाइल फोन, डिजिटल बैंकिङ, क्लाउड कम्प्युटिङ, कृत्रिमबुद्धिमत्ता लगायतका प्रविधिले हाम्रो जीवनलाई छिटो, सहज र प्रभावकारी बनाएका छन् ।

प्रविधिले वित्तीय तथा सहकारी संस्थाको काम गर्ने शैलीमा ठूलो परिवर्तन ल्याएको छ । डिजिटल कारोबार, मोबाइल बैंकिङ, अनलाइन सेवा, डिजिटल अभिलेख, स्वचालित लेखा प्रणाली, तथ्यांक विश्लेषण तथा सूचना व्यवस्थापनजस्ता प्रविधिले सेवा छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पु¥याएका छन् ।

तर प्रविधिको प्रयोग गर्नु मात्र रूपान्तरण होइन । प्रविधिको माध्यमबाट सदस्यलाई सहज, सुरक्षित, पारदर्शी र विश्वसनीय सेवा प्रदान गर्नु महत्वपूर्ण हुन्छ ।

उदाहरणका लागि, सदस्यले आफ्नो खाताको विवरण सहजै हेर्न सक्ने, कारोबारको सूचना तत्काल प्राप्त गर्ने, आवश्यक सेवा कार्यालय नआई प्राप्त गर्न सक्ने र आफ्नो वित्तीय जानकारी सुरक्षित रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण भएमा प्रविधिले संस्थाप्रतिको विश्वास अझ बढाउन सक्छ ।

त्यसैले प्रविधि आफैमा लक्ष्य होइन, यो विश्वासलाई अझ मजबुत बनाउने महत्वपूर्ण माध्यम हो ।

रूपान्तरण (Transformation) : सोचदेखि प्रणालीसम्म 

रूपान्तरण भन्नाले पुरानो प्रणालीलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्नु मात्र बुझिँदैन । वास्तविक रूपान्तरण भनेको सोच, संस्कृति, प्रक्रिया, प्रविधि र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु हो ।

संस्थाले डिजिटल प्रणाली अपनायो तर कर्मचारीको सोच पुरानै रह्यो, सेवा प्रक्रिया जटिल नै रह्यो र सदस्यको आवश्यकतालाई प्राथमिकता दिइएन भने त्यसलाई पूर्ण रूपान्तरण भन्न सकिँदैन ।

रूपान्तरणका लागि संस्थाभित्र परिवर्तनलाई स्वीकार गर्ने संस्कृति आवश्यक हुन्छ । कर्मचारीले नयाँ प्रविधि सिक्न र प्रयोग गर्न तयार हुनुपर्छ । नेतृत्वले नयाँ सोचलाई प्रोत्साहन गर्नुपर्छ । निर्णय प्रक्रिया तथ्य र तथ्याङ्कमा आधारित हुनुपर्छ । सदस्यको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर सेवा प्रणालीको निरन्तर सुधार गरिनुपर्छ ।

सहकारी क्षेत्रमा नयाँ सम्भावना

सहकारीको मूल शक्ति सदस्यसँगको सम्बन्ध हो । प्रविधिले यही सम्बन्धलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउन सक्छ । सदस्यको आवश्यकता, कारोबारको प्रवृत्ति र वित्तीय व्यवहार सम्बन्धी तथ्याङ्कको विश्लेषण गरेर संस्थाले अझ उपयुक्त सेवा तथा उत्पादन विकास गर्न सक्छ ।

त्यसैगरी डिजिटल माध्यमबाट वित्तीय साक्षरता, बचतको महत्व, ऋणको जिम्मेवार प्रयोग तथा सुरक्षित डिजिटल कारोबारसम्बन्धी जानकारी सदस्यसम्म सहज रूपमा पु¥याउन    सकिन्छ ।

तर प्रविधिको विस्तारसँगै साइबर सुरक्षा, अभिलेखको गोपनीयता, डिजिटल साक्षरता र प्रविधिमा पहुँचको समानताजस्ता विषयमा पनि विशेष ध्यान दिन आवश्यक छ । प्रविधिले केही सदस्यलाई सेवा सहज बनाउँदा प्रविधिमा पहुँच नभएका सदस्यहरू सेवा प्रणालीबाट पछि नपर्ने व्यवस्था गर्नु पनि संस्थाको जिम्मेवारी हो ।

नेतृत्वको भूमिका

विश्वास, प्रविधि र रूपान्तरणको यात्रामा नेतृत्वको भूमिका निर्णायक हुन्छ । नेतृत्वले परिवर्तनलाई केवल प्रविधि खरिद गर्ने विषयका रूपमा नभई संस्थागत संस्कृतिको विकाससँग जोड्नुपर्छ ।

नेतृत्वले तीनवटा प्रश्न निरन्तर सोध्न आवश्यक छ

क) हामीले सदस्यको विश्वास कसरी अझ बलियो बनाउने?
ख) हामीले प्रविधिलाई सदस्यको जीवन सहज बनाउन कसरी प्रयोग गर्ने? र
ग) आजको परिवर्तनलाई भोलिको संस्थागत क्षमतामा कसरी रूपान्तरण गर्ने?
यी प्रश्नको उत्तर खोज्दै अघि बढ्ने संस्था मात्र दिगो र प्रतिस्पर्धी बन्न सक्छ ।

निष्कर्ष

‘विश्वास, प्रविधि र रूपान्तरण’ तीन अलग-अलग शब्द भए पनि सहकारीको भविष्यका लागि यी तीनवटै एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । विश्वास सहकारीको आधार हो, प्रविधि परिवर्तनको साधन हो र रूपान्तरण भविष्यतर्फको यात्रा हो ।

सहकारी संस्थाले प्रविधि अपनाउँदा आफ्नो मौलिक पहिचान बिर्सनु हुँदैन । प्रविधिले संस्थालाई अझ मानवीय, पारदर्शी, जवाफदेही र सदस्यकेन्द्रित बनाउन सहयोग गर्नुपर्छ । डिजिटल प्रणालीको उद्देश्य केवल कारोबारलाई छिटो बनाउनु होइन; सदस्यको अनुभव सुधार्नु, संस्थागत सुशासन बलियो बनाउनु, जोखिम घटाउनु र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनु पनि   हो ।

अबको प्रतिस्पर्धा केवल कसको कार्यालय ठूलो छ वा कसको सेवा बढी छ भन्नेमा सीमित रहने छैन । कसले सदस्यको विश्वासलाई प्रविधिसँग जोडेर दिगो मूल्य सिर्जना गर्न सक्छ भन्ने विषय अझ महत्वपूर्ण हुनेछ ।

यसैले सहकारी क्षेत्रको आगामी यात्रा केवल डिजिटल हुने यात्रा होइन; यो विश्वासलाई प्रविधिसँग जोड्दै संस्थागत रूपान्तरण गर्ने यात्रा हो ।

रूपान्तरणको गति जति तीव्र भए पनि यसको दिशा स्पष्ट हुनुपर्छ । प्रविधि जति आधुनिक भए पनि यसको केन्द्रमा सदस्य हुनुपर्छ । सेवा जति डिजिटल भए पनि सम्बन्धमा विश्वास हुनुपर्छ ।  अनि संस्थाको विकास जति तीव्र भए पनि त्यसको आधार पारदर्शिता, सुशासन र सदस्यहित  हुनुपर्छ । 

यही दृष्टिकोणले अघि बढ्न सकेमा सहकारी संस्था केवल समयसँगै परिवर्तन हुने होइन, समयको परिवर्तनलाई नेतृत्व गर्न सक्ने संस्थाबन्न सक्छ । (पौडेल विकू बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत हुन् ।)