नेपालको पर्यटन क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्र हो । पछिल्ला वर्षहरूमा पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ । हिमाल, जैविक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक तीर्थस्थल तथा साहसिक पर्यटनका कारण नेपाल विश्व पर्यटन बजारमा परिचित गन्तव्य हो । तर, पर्यटनको विस्तारसँगै यसको लाभ स्थानीय समुदायसम्म कसरी पुर्याउने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
विशाल सम्भावना हुँदाहुँदै पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन । सडक, यातायात, सूचना प्रविधि, सेवा गुणस्तर, अन्तर्राष्ट्रिय बजारसँगको पहुँच, दक्ष जनशक्तिको अभाव तथा लगानीको असमान वितरणजस्ता समस्या छन् । पर्यटन विकासमा स्थानीय समुदायको सहभागिता पनि अपेक्षाकृत कमजोर छ । यस्तो अवस्थामा पर्यटनलाई स्थानीय अर्थतन्त्र, रोजगारी, उद्यमशीलता र सामूहिक स्वामित्वसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा सहकारी मोडललाई अघि बढाउन सकिन्छ। सहकारीमार्फत साना–साना पुँजीलाई एकत्रित गरी पर्यटनका विभिन्न क्षेत्रमा सामूहिक लगानी र स्वामित्व निर्माण गर्न सकिन्छ ।
पर्यटन सहकारीको अवधारणा
नेपालमा पर्यटन सहकारीको अवधारणा ग्रामीण क्षेत्रमा आयआर्जन बढाउने, स्थानीय संस्कृति संरक्षण गर्ने तथा पर्यटन व्यवसायमा समुदायको पहुँच स्थापित गर्ने उद्देश्यले अघि आएको हो । सरकारले वि.सं. २०६७ मा होमस्टे कार्यविधि ल्याएपछि ग्रामीण पर्यटन प्रवद्र्धनले पनि गति लियो । नेपालको सहकारी आन्दोलनको इतिहास लामो भए पनि पर्यटनसँग जोडेर सहकारीको प्रयोग गर्ने अभ्यास तुलनात्मक रूपमा नयाँ हो।
सुरुवाती चरणमा सहकारीलाई मुख्यतः बचत तथा ऋणको माध्यमका रूपमा बुझियो । परिणामतः उत्पादन, सेवा, उद्यमशीलता र सामूहिक आर्थिक विकासमा सहकारीको सम्भावना पर्याप्त रूपमा प्रयोग हुन सकेन । पर्यटन सहकारीको अवधारणा भने यसभन्दा फरक छ । यसको उद्देश्य सहकारीलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी प्रत्यक्ष व्यवसायसँग जोड्नु हो । होटल, होमस्टे, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ, रिसोर्ट, बन्जी जम्पिङ, केबलकार, प्याराग्लाइडिङ, रक क्लाइम्बिङलगायत पर्यटनका विभिन्न गतिविधिमा सामूहिक पुँजी र स्वामित्व निर्माण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि कतिपय पर्यटन व्यवसाय सामूहिक लगानी र सहकारी संरचनाबाट सुरु भएर पछि कम्पनी मोडलमा विकसित भएका उदाहरण छन् । नेपालमा भने अधिकांश ठूला पर्यटन व्यवसाय सुरुदेखि नै कम्पनी मोडलमा सञ्चालन हुँदै आएका छन् । सहकारी मोडलबाट विकास हुँदै कम्पनी मोडलमा जाने अभ्यास भने कमजोर छ ।
पर्यटन सहकारीको वर्तमान अवस्था
नेपालमा पर्यटन सहकारीको सुरुवात वि.सं. २०६७/६८ तिर भएको हो । त्यसपछि पर्यटन सहकारीको छाता संगठनका रूपमा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ २०७१ असार २२ गते दर्ता भएको हो । सुरुवाती चरणमा पर्यटन व्यवसायीबीच सहकारीमार्फत सामूहिक रूपमा काम गर्न सकिन्छ भन्ने बहस भए पनि सदस्य संख्या, कानुनी प्रक्रिया, संगठनात्मक तयारी तथा नेतृत्व व्यवस्थापनका कारण अपेक्षित गति लिन सकेन । हाल देशका विभिन्न जिल्लामा पर्यटनसँग सम्बन्धित सहकारी संस्था दर्ता भएका छन् । तर, तीमध्ये धेरैजसो अझै बचत तथा ऋण कारोबारमै केन्द्रित छन् । होटल, ट्राभल एजेन्सी, ट्रेकिङ, होमस्टे, रिसोर्ट तथा अन्य पर्यटन व्यवसायलाई मुख्य उद्देश्य बनाएर सञ्चालन भएका सहकारीको संख्या न्यून छ ।
पर्यटन सहकारीको नाममा बचत तथा ऋण कारोबार गर्ने संस्था विभिन्न जिल्लामा छन् । तर सहकारीको मूल उद्देश्यअनुसार पर्यटन व्यवसायमा सामूहिक लगानी गर्ने अभ्यास अझै प्रारम्भिक चरणमै छ । केही साना होटल, रिसोर्ट तथा अन्य पर्यटन व्यवसायमा सामूहिक पुँजी परिचालनका प्रयास भएका छन् । ललितपुरमा केही नमुना देखिएका छन् भने सिन्धुपाल्चोक र चितवनमा पनि यस्ता प्रयास भएका छन् । तर, सहकारीको अवधारणा र सञ्चालन विधिबारे पर्याप्त बुझाइ नहुँदा कतिपय प्रयास कमजोर भएका वा निरन्तरता पाउन नसकेका उदाहरण पनि छन् ।
सहकारीले उद्देश्य अनुसार काम गर्नुपर्छ । सबै नभएपनि कम्तिमा ५० प्रतिशत काम उद्देश्य अनुरुप हुनुपर्छ । होटल, ट्राभल एजेन्सीहरू, ट्रेकिङ एजेन्सी, होमस्टेहरू, बन्जी जम्पिङहरू सहकारी मोडलमा बनेका छैनन् । सानातिना रिसोर्टहरू, सानातिना होटलहरू बल्ल सहकारी मोडलले सबैको पैसाहरू उठाएर सहकारीमा दर्ता गरेर चलेको अवस्था छ । त्यसैले यसको अवस्था हेर्दा प्रगति तिर लागेको स्थिति छ । तर यसले मुलुकको अर्थतन्त्र, जनताको जीवनस्तर उठाउने कुरामा एकदम महत्वपूर्ण कोसेढुङ्गा सावित हुने ढंगले अगाडि बढ्न सकेको भने छैन ।
सानो पुँजी, ठूलो सम्भावना
नेपालमा अधिकांश नागरिकसँग ठूलो मात्रामा लगानी गर्न सक्ने पुँजी छैन । यस्तो प्रयोगका लागि आवश्यक ज्ञान, प्रशिक्षण र व्यवस्थापकीय क्षमता पनि पर्याप्त छैन । होटल, ट्राभल एजेन्सी, ट्रेकिङ, होमस्टे तथा साहसिक पर्यटनमा सहकारीको अवधारणा जोड्न संस्थागत तयारी आवश्यक छ । त्यसैगरी दक्ष जनशक्तिको पलायन अर्को ठूलो चुनौती हो । पर्यटन क्षेत्रमा काम गर्ने गाइड, होटल कर्मचारी, राफ्टिङ व्यवसायी, साहसिक पर्यटनका दक्ष जनशक्ति तथा अन्य विशेषज्ञ राम्रो अवसरको खोजीमा विदेश जाने अवस्था छ । उचित पारिश्रमिक, सम्मान, सुरक्षा, स्वतन्त्र कार्य वातावरण र जिम्मेवारीअनुसारको सुविधा नहुँदा दक्ष जनशक्ति टिकाउन कठिन भएको छ । योग्य व्यक्तिलाई योग्य स्थानमा राख्ने र उनीहरूलाई काम गर्ने स्वतन्त्रता तथा त्यससँगै जवाफदेहिता दिने वातावरण निर्माण गर्नुपर्छ ।
स्थानीय अर्थतन्त्रसँग पर्यटनको सम्बन्ध
पर्यटन विदेशी पर्यटकको आगमनसँग मात्र सम्बन्धित विषय होइन । एक स्थानबाट अर्को स्थानमा गएर खर्च गर्ने घरेलु पर्यटक पनि पर्यटन अर्थतन्त्रका महत्वपूर्ण हिस्सा हुन् । स्थानीय उत्पादन, कृषि, हस्तकला, जैविक वस्तु, खानाका परिकार तथा सांस्कृतिक सामग्रीलाई पर्यटनसँग जोड्न सकिए स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्छ । होमस्टेमा स्थानीय उत्पादन प्रयोग गर्ने, पर्यटकलाई स्थानीय खाद्य सामग्री बिक्री गर्ने, साना पसल तथा सेवा व्यवसाय सञ्चालन गर्ने र स्थानीय उत्पादनलाई अन्य पर्यटन गन्तव्यसम्म पुर्याउने काम सहकारीमार्फत गर्न सकिन्छ ।
नेपालका ७७ वटै जिल्लामा पर्यटनका सम्भावना छन् । चितवन, पोखरा, लुम्बिनी र काठमाडौं मात्र पर्यटनका गन्तव्य होइनन् । पाथीभरा, अपी हिमाल, सुदूरपश्चिमका विभिन्न क्षेत्र, मध्यपहाडका गाउँ तथा तराईका सांस्कृतिक र प्राकृतिक क्षेत्रलाई पनि पर्यटनसँग जोड्न सकिन्छ । प्राकृतिक सुन्दरता, विविध हावापानी, हिमाल, पहाड र तराईको भौगोलिक विविधता तथा सांस्कृतिक सम्पदा नेपालका महत्वपूर्ण पर्यटन सम्पत्ति हुन् । यिनको व्यवस्थित विकास गर्न सकियो भने पर्यटन अर्थतन्त्रको आकार निकै ठूलो बनाउन सकिन्छ ।
जलवायु परिवर्तन र दिगो पर्यटन
पर्यटन प्राकृतिक वातावरणसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले वातावरण संरक्षणलाई पर्यटन सहकारीको प्रमुख एजेन्डा बनाउनुपर्छ । बाढी, पहिरो, वातावरणीय असन्तुलन तथा प्राकृतिक स्रोतको विनाशले पर्यटन पूर्वाधारमा समेत असर पारिरहेको छ । त्यसैले पर्यटन पूर्वाधार निर्माण गर्दा वातावरणीय जोखिमको अध्ययन आवश्यक छ । बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा होटल तथा अन्य संरचना निर्माण गर्न नदिने, अनियन्त्रित रूपमा डोजर प्रयोग नगर्ने, प्राकृतिक संरचना नष्ट नगर्ने तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिने विषयमा समुदाय, सहकारी र सरकारबीच समन्वय हुनुपर्छ । वन, वन्यजन्तु, नदी, पहाड र जैविक विविधता पर्यटनका आधार हुन्। त्यसैले तिनको संरक्षणबिना दीर्घकालीन पर्यटन विकास सम्भव छैन ।
संस्कृति संरक्षण र पर्यटन
नेपालको सांस्कृतिक विविधता पर्यटनको महत्वपूर्ण आधार हो। विभिन्न जातजाति, भाषा, परम्परा, खानपान, कला र संस्कारलाई पर्यटनसँग जोड्न सकिन्छ । तर, सांस्कृतिक पर्यटन विकास गर्दा स्थानीय संस्कृति र पहिचानलाई सम्मान गर्नुपर्छ। कुनै समुदायको संस्कृतिलाई बाहिरबाट मात्र परिभाषित गर्नुको सट्टा सम्बन्धित समुदायको आफ्नै भाषा, परम्परा र ज्ञान प्रणालीअनुसार प्रस्तुत गर्नुपर्छ । उदाहरणका लागि तामाङ समुदायको संस्कृति प्रस्तुत गर्दा तामाङ भाषा, परम्परा र सांस्कृतिक अभ्यासलाई आधार बनाउनुपर्छ। यसबाट संस्कृति संरक्षणसँगै स्थानीय रोजगारी पनि सिर्जना हुन्छ । सहकारीले स्थानीय समुदायलाई संगठित गरी सांस्कृतिक पर्यटनका गतिविधि सञ्चालन गर्न सक्छ। यसले संस्कृति संरक्षण र आर्थिक गतिविधिलाई एकैसाथ अघि बढाउने अवसर दिन्छ ।
निजी क्षेत्र, सरकार र सहकारीबीच सहकार्य
पर्यटन विकासमा निजी क्षेत्र, सरकार र सहकारी तीनै पक्षको भूमिका फरक भए पनि परस्पर जोडिएको छ । निजी क्षेत्रसँग लगानी, व्यवसायिक अनुभव र बजार पहुँच हुन्छ । सरकारले नीति, पूर्वाधार, नियमन र सहजीकरण गर्न सक्छ। सहकारीले भने साना– साना लगानीकर्ता र स्थानीय समुदायलाई संगठित गरी सामूहिक पुँजी तथा स्वामित्व निर्माण गर्न सक्छ । त्यसैले पर्यटन र सहकारीबीच प्रभावकारी समन्वय आवश्यक छ । पर्यटन तथा सहकारी क्षेत्रका तथ्यांक व्यवस्थित हुनुपर्छ । पर्यटन मन्त्रालय र सहकारी क्षेत्रका सम्बन्धित निकायबीच पर्यटन सहकारीको अवधारणा, सम्भावना र विकास रणनीतिबारे स्पष्ट दृष्टिकोण आवश्यक छ । नीति निर्माण, बजेट विनियोजन, अनुसन्धान तथा कार्यक्रम सञ्चालनका क्रममा पर्यटन सहकारी क्षेत्रका विज्ञ र अभियन्तालाई पनि सहभागी गराउनुपर्छ ।
बेलाबेलामा छलफल गर्नेभन्दा संस्थागत रूपमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक व्यवस्थापन प्रणालीको प्रयोग बढिरहेको अवस्थामा पर्यटन सहकारीलाई पनि प्रविधिमैत्री बनाउन आवश्यक छ । तर प्रविधिको प्रयोगका लागि सबैभन्दा पहिले सक्षम मानव संसाधन चाहिन्छ । सहकारी सञ्चालक, पर्यटन व्यवसायी, सरकारी कर्मचारी तथा नियमनकारी निकायका अधिकारीलाई डिजिटल साक्षरता, तथ्यांक विश्लेषण, एआई तथा आधुनिक व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक छ । पर्यटन बुझेको जनशक्तिलाई पर्यटनमै, सहकारी बुझेको जनशक्तिलाई सहकारीमै र दुवै क्षेत्र बुझेको जनशक्तिलाई पर्यटन सहकारीमा परिचालन गर्न सक्नुपर्छ । पर्यटन सहकारी भनेको पर्यटन व्यवसाय दर्ता गरेर सेवा सञ्चालन गर्नु मात्र होइन । समान उद्देश्य भएका व्यक्तिलाई संगठित गरी स्रोत तथा पुँजी एकत्रित गर्ने, सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने र लाभमा सबै सदस्यको अपनत्व सुनिश्चित गर्ने व्यवस्था हो ।
पर्यटन सहकारीको भविष्य युवासँग जोडिएको छ । पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्न सकेन र नयाँ पुस्तालाई संस्थामा ल्याउन सकेन भने कुनै पनि संस्था दीर्घकालीन रूपमा बलियो हुन सक्दैन । त्यसैले पर्यटन व्यवसाय तथा सहकारी अभियानमा युवालाई आकर्षित गर्न विशेष कार्यक्रम आवश्यक छ । युवाका लागि तालिम, उद्यमशीलता, डिजिटल पर्यटन, पर्यटन प्रविधि, व्यवस्थापन र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ । युवालाई केवल सदस्य बनाउने होइन, नेतृत्व विकास गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय अभ्यासबाट सिकाइ
अन्तर्राष्ट्रिय अभ्यासमा पर्यटन सहकारीको भूमिका सामूहिक लगानीमा मात्र सीमित छैन । स्थानीय समुदायको स्वामित्व, रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन, सांस्कृतिक संरक्षण तथा पर्यटनबाट प्राप्त आम्दानीको न्यायोचित वितरणमा पनि सहकारीले योगदान दिएका छन् ।
जापान, इजरायल, इटाली तथा युरोपका विभिन्न देशमा समुदायमा आधारित पर्यटन तथा सहकारी संस्थाले होटल, होमस्टे, कृषि पर्यटन, रेस्टुरेन्ट, स्थानीय गाइड तथा अन्य पर्यटन सेवा सञ्चालन गरेका उदाहरण छन् । इटालीमा कृषि पर्यटनमार्फत किसान, होटल व्यवसायी, स्थानीय उत्पादनकर्ता र पर्यटन सेवा प्रदायकलाई एउटै सञ्जालमा जोडिएको पाइन्छ ।
जापानका ग्रामीण पर्यटन सहकारीले कृषक, हस्तकला व्यवसायी तथा स्थानीय समुदायलाई पर्यटनसँग जोडेर गाउँमै रोजगारी सिर्जना गरेका छन् । दक्षिण कोरिया र थाइल्यान्डमा पनि समुदायमा आधारित पर्यटनले स्थानीय महिलाको आर्थिक सशक्तीकरण, सांस्कृतिक संरक्षण तथा ग्रामीण पर्यटन विस्तारमा योगदान दिएका छन् ।
भारतमा सहकारीमार्फत एयरलाइन्सहरु चलेका छन् । यससँगै जापान, इजरायल, इटाली तथा युरोपका विभिन्न देशहरूमा पर्यटन सहकारीमार्फत होटल, होमस्टे, रेस्टुरेन्ट, ट्राभल एजेन्सी तथा अन्य पर्यटन सेवा सञ्चालन भएका उदाहरणहरू पाइन्छन् । स्पेनको बास्क क्षेत्रमा रहेको ःयलमचबनयल ऋयचउयचबतष्यल लाई सहकारी आन्दोलनको विश्वकै उल्लेखनीय उदाहरणका रूपमा लिन सकिन्छ ।
इटालीमा कृषि पर्यटन अर्थात् ‘ एग्रिटुरिज्म’ सञ्चालन गर्ने धेरै सहकारीहरूले किसान, होटल व्यवसायी, स्थानीय उत्पादनकर्ता र पर्यटन सेवा प्रदायकलाई एउटै सञ्जालमा आबद्ध गरेका छन् । पर्यटकले स्थानीय खाना, संस्कृति, कृषि अनुभव तथा आवास एउटै व्यवस्थापन प्रणालीबाट प्राप्त गर्ने भएकाले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुगेको छ ।
जापानका ग्रामीण पर्यटन सहकारीहरूले कृषक, हस्तकला व्यवसायी तथा स्थानीय समुदायलाई पर्यटनसँग जोडेर गाउँमै रोजगारी सिर्जना गरेका छन् । उनीहरूले स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने, सामूहिक ब्रान्ड विकास गर्ने तथा आम्दानीको न्यायोचित वितरण गर्ने प्रणाली अपनाएका छन् ।
दक्षिण कोरिया र थाइल्यान्डमा पनि समुदायमा आधारित पर्यटन सहकारीहरूले स्थानीय महिलाको आर्थिक सशक्तीकरण, सांस्कृतिक सम्पदाको संरक्षण तथा ग्रामीण पर्यटनको विस्तारमा उल्लेखनीय योगदान दिएका छन् । यस्ता सहकारीहरूले होमस्टे व्यवस्थापनदेखि स्थानीय गाइड तालिम, हस्तकला बिक्री र पर्यटन प्याकेज विकाससम्मका काम सामूहिक रूपमा सञ्चालन गर्छन् । यी अभ्यासबाट नेपालले स्थानीय आवश्यकता र आफ्नै सामाजिक संरचनाअनुसार सिक्न सक्छ ।
भविष्यको मार्गचित्र
नेपालमा पर्यटन सहकारी विकासका लागि पहिलो आवश्यकता स्पष्ट अवधारणा र चेतना हो । त्यसपछि तथ्यांक, अनुसन्धान, दक्ष जनशक्ति, पुँजी, व्यवस्थापन र संस्थागत समन्वय आवश्यक हुन्छ । सहकारीलाई बचत तथा ऋणमा मात्र सीमित नगरी व्यवसाय सञ्चालनमा लैजानुपर्छ । पर्यटन क्षेत्रमा सहकारी मोडलका नमुना होटल, होमस्टे, रेस्टुरेन्ट, रिसोर्ट तथा अन्य व्यवसाय स्थापना गरेर यसको प्रभाव व्यवहारमै देखाउनुपर्छ । साना व्यवसायीलाई सहकारीमा आबद्ध गर्ने, उनीहरूको सानो पुँजी एकत्रित गर्ने, तालिम दिने, व्यवसायिक योजना तयार गर्ने र सामूहिक लगानीमा पर्यटन व्यवसाय सञ्चालन गर्ने प्रणाली विकास गर्नुपर्छ । सरकारले नीति तथा कानुनी सहजीकरण गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट पर्यटन सहकारी व्यवसायलाई आवश्यक वित्तीय सुविधा उपलब्ध हुने वातावरण बनाउनुपर्छ । पर्यटन र सहकारी सम्बन्धी निकायबीच निरन्तर समन्वय आवश्यक छ । नेपालले ‘भ्रमण वर्ष’ तथा ‘वेलनेस पर्यटन’जस्ता अभियान अघि बढाउँदा यस्ता कार्यक्रमलाई स्थानीय समुदायको आर्थिक सहभागितासँग जोड् नुपर्छ । स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, हस्तकला, कृषि उत्पादन तथा सांस्कृतिक गतिविधिलाई सहकारीमार्फत एकीकृत गर्न सकिए पर्यटनबाट प्राप्त आम्दानी स्थानीय तहमा व्यापक रूपमा वितरण गर्न सकिन्छ।
निष्कर्ष
नेपालमा पर्यटनको सम्भावना ठूलो छ । तर सम्भावना आफैं विकासमा रूपान्तरण हुँदैन । त्यसका लागि अनुसन्धान, योजना, पुँजी, दक्ष जनशक्ति, पूर्वाधार, प्रविधि र प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ ।
सहकारीको अवधारणा बुझ्न नसक्दा पर्यटन व्यवसायमा यसको प्रयोग पनि कमजोर भएको छ । होटल, ट्राभल एजेन्सी, ट्रेकिङ, होमस्टे तथा अन्य पर्यटन व्यवसायमा सहकारीको अवधारणा जोडिनुपर्ने भए पनि त्यसका लागि आवश्यक चेतना र प्रशिक्षण पर्याप्त छैन । सहकारी मोडलले ठूलो पुँजी नभएका नागरिकलाई पनि पर्यटन व्यवसायमा सहभागी हुने अवसर दिन सक्छ । साना–साना पुँजीलाई एकत्रित गरेर सामूहिक स्वामित्व निर्माण गर्न सकिन्छ। यसबाट स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन आम्दानीको न्यायोचित वितरण सम्भव हुन्छ ।
तर, सहकारीलाई पर्यटन विकासको प्रभावकारी माध्यम बनाउन यसको दर्शन र उद्देश्यबारे जनचेतना बढाउनुपर्छ । संस्थागत क्षमता विकास गर्नुपर्छ । योग्य व्यक्तिलाई योग्य जिम्मेवारी दिनुपर्छ र जिम्मेवारीसँगै जवाफदेहिता पनि सुनिश्चित गर्नुपर्छ । नेपालको पर्यटनलाई काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा मात्र सीमित नराखी ७७ वटै जिल्लाका सम्भावनासँग जोड्नुपर्छ । हिमाल, पहाड, तराई, संस्कृति, कृषि, जैविक विविधता, साहसिक पर्यटन र वेलनेस पर्यटनलाई एकीकृत रूपमा अघि बढाउन सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य अपरिहार्य छ । सरकारले नीति र पूर्वाधारको नेतृत्व गर्नुपर्छ, निजी क्षेत्रले लगानी र बजार विस्तार गर्नुपर्छ भने सहकारीले स्थानीय समुदाय र साना लगानीकर्तालाई संगठित गर्नुपर्छ ।
अन्ततः पर्यटन सहकारीको सफलता केवल कति संस्था दर्ता भए भन्ने आधारमा मापन हुनु हुँदैन । कति स्थानीय नागरिक पर्यटन व्यवसायको मालिक बने, कति रोजगारी सिर्जना भयो, स्थानीय उत्पादनले कति बजार पायो र पर्यटनबाट सिर्जित आम्दानी समुदायमा कति पुग्यो भन्ने आधारमा यसको सफलता मापन गर्नुपर्छ ।
नेपालको पर्यटन विकासमा सहकारी मोडल अझै प्रारम्भिक चरणमा छ । तर सही नीति, पर्याप्त अनुसन्धान, दक्ष जनशक्ति, प्रविधिको प्रयोग र सरकार–निजी क्षेत्र–सहकारी–समुदायबीच प्रभावकारी सहकार्य स्थापित गर्न सकियो भने सानो पुँजीलाई ठूलो आर्थिक शक्तिमा रूपान्तरण गर्दै पर्यटनलाई स्थानीय समृद्धिको आधार बनाउन सकिने सम्भावना भने निकै ठूलो छ । - सीजेएन स्मारिकाबाट
(रिजाल नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष हुन् ।)