काठमाडौं : द सोल्टी होटलका तीनवटै श्रमिक युनियनले व्यवस्थापनले कर्मचारी सरुवा गर्ने सम्बन्धमा सार्वजनिक गरेको सूचनाप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन् ।
युनियनहरूले भदौ २१ गते संयुक्त विज्ञप्ति जारी गर्दै सेप्टेम्बर १८ मा व्यवस्थापनले सार्वजनिक गरेको सूचनाले श्रमिकको हक, सम्मानजनक श्रम र सामान्य श्रम सम्बन्धको अवधारणालाई प्रभावित गरेको दाबी गरेका छन् ।
व्यवस्थापनको एकतर्फी निर्णयका आधारमा कर्मचारी सरुवा गर्ने प्रक्रिया सामान्य श्रम व्यवहार, मानव अधिकार तथा सम्मानजनक श्रमको अवधारणाविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको श्रमिकले होटलमा गरेको योगदानको अवमूल्यन गर्दै हचुवाको भरमा सरुवा गर्ने निर्णय गरिएको युनियनहरूले जनाएका छन् ।
होटल व्यवस्थापनले सेप्टेम्बर १८, २०२६ मा सूचना जारी गर्दै होटलको प्रिन्सेप विङ भवनको स्तरोन्नति तथा पुनर्निर्माणका कारण होटलका विभिन्न विभागमा कार्यरत श्रमिक तथा कर्मचारीलाई अन्तर-विभाग सरुवा गरिने निर्णय गरेको थियो ।
व्यवस्थापनले प्रभावित विभागमा रहेका जनशक्तिको उचित व्यवस्थापन तथा पुनर्संरचनाका लागि सेप्टेम्बर २२, २०२६ देखि लागू हुनेगरी कर्मचारी तथा श्रमिकलाई पुनर्निर्माण सम्पन्न नभएसम्मका लागि अन्तर-विभाग सरुवा गर्ने निर्णय गरेको थियो ।
पुनर्निर्माण अवधिभर उक्त भवनका अतिथि कोठा र गार्डेन टेरेसको सेवा पूर्णरूपमा बन्द रहने भएकाले होटल पूर्ण क्षमतामा सञ्चालन नहुने व्यवस्थापनले जनाएको छ । होटलको सञ्चालन क्षमता घटेसँगै हाउसकिपिङ, इन्जिनियरिङ, फुड एन्ड बेभरेज, रुम सर्भिस र फ्रन्ट अफिसलगायत विभाग प्रत्यक्ष रूपमा प्रभावित हुने जनाइएको छ ।
युनियनहरूले व्यवस्थापनको उक्त निर्णयप्रति गम्भीर असहमति जनाउँदै होटलमा उत्पन्न वातावरणलाई न्यायपूर्ण ढंगले समाधान गर्न माग गरेका छन् । साथै, सम्पूर्ण श्रमिकलाई शान्त, सहज र तनावमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न व्यवस्थापनको ध्यानाकर्षण गराएका छन् ।
समस्या समाधान नभए श्रमिकको हक र अधिकार संरक्षणका लागि आफूहरू थप कदम चाल्न बाध्य हुने चेतावनी पनि युनियनहरूले दिएका छन् । त्यसपछि उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी व्यवस्थापनले लिनुपर्ने उनीहरूको भनाइ छ ।
संयुक्त विज्ञप्तिमा अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघ (आधिकारिक युनियन), नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ द सोल्टी र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेण्ट मजदुर युनियन द सोल्टीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।