काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महताले आफ्नै परिवारका सदस्यले भोगेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आपत्कालीन स्वास्थ्य उद्धार प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
उनका अनुसार उनकी भाइबुहारीलाई भदौ ६ गते सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार भदौ ७ गते शल्यक्रिया गरी छोरी जन्मिएपछि परिवारमा खुसीको वातावरण बने पनि शल्यक्रियापछि आमाको मुटुको चाल रोकिएसँगै स्वास्थ्य अवस्था गम्भीर बनेको उनले बताए ।
स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकले भेन्टिलेटरसहित हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको महताले बताए । त्यसपछि आफूले स्वास्थ्य, महिला, बालबालिका तथा गृह मन्त्रालयमा सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल सम्पर्क हुन नसकेको उनले सदनलाई जानकारी गराए ।
महताका अनुसार त्यसपछि उनी प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा पुगेका थिए । सभामुखले तत्काल स्वास्थ्य मन्त्रीलाई फोन गरी बिरामीको उद्धारको व्यवस्था गर्न निर्देशन दिएको भन्दै उनले सभामुख र संसद् सचिवालयप्रति धन्यवाद व्यक्त गरे ।
तर, विभिन्न सरकारी निकायसँग समन्वय गर्दा कानुनी जटिलताका कारण सरकारी हेलिकप्टरबाट उद्धार गर्न नसकिने जवाफ पाएको उनले बताए । ‘त्यो क्षण मेरा लागि एउटै प्रश्न थियो, कानुन ठूलो कि एउटा नागरिकको जीवन ?’ महताले प्रश्न गर्दै भने ।
आफूले कुनै विशेष सुविधा नमागेको भन्दै उनले जीवन बचाउन सकिने सम्भावना भएको गम्भीर बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्याउने अधिकारका लागि पहल गरेको बताए ।
सरकारी माध्यमबाट उद्धारमा कठिनाइ भएपछि निजी क्षेत्रको हेलिकप्टरमार्फत उद्धारको विकल्प खोजिएको उनले बताए । आफू संघीय सांसद भएर राज्यका विभिन्न निकायमा प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि गम्भीर बिरामीको समयमै हवाई उद्धार गराउन धेरै तह र प्रक्रिया पार गर्नुपरेको उल्लेख गर्दै उनले सामान्य नागरिकको अवस्थाबारे प्रश्न उठाए ।
‘म एकजना संघीय सांसद भएर राज्यका विभिन्न निकायसमक्ष प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि एउटा गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गराउन यति धेरै तह-प्रक्रिया पार गर्नुपर्ने अवस्था आयो भने सामान्य नागरिकले यस्तो परिस्थितिमा के गर्ने ?’ उनले भने ।
महताले आपत्कालीन अवस्थामा तत्काल निर्णय गर्न सकिने गरी स्पष्ट र पारदर्शी उद्धार प्रणाली निर्माण गर्न सरकारसँग माग गरे ।