काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले भोटेकोसीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल क्षेत्रमा परेको क्षतिको विवरण संकलन गर्दै प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने प्रक्रिया अघि बढाएको छ।
बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा क्षति पुगेको भन्दै नाडाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बाढीका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी प्राप्त भइरहेको नाडाले जनाएको छ।
प्रभावित व्यवसायी तथा सदस्यलाई आवश्यक सहयोग पुर्याउन नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायसँग समन्वय र पहल सुरु गरेको जनाएको छ। त्यसका लागि बाढी तथा डुबानबाट प्रभावित नाडाका सदस्य कम्पनीलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ।
नाडाले संकलन गर्ने विवरणमा क्षतिग्रस्त तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार र उपलब्ध पहिचान विवरण समेटिनेछ।
त्यस्तै, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएका सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले सदस्य व्यवसायीलाई अनुरोध गरेको छ।
प्राप्त विवरणका आधारमा अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्ने नाडाले जनाएको छ। क्षतिको विवरणलाई आधार बनाएर सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय र सहजीकरणका लागि पहल गरिने नाडाले जनाएको छ।
बीमा दाबी प्रक्रियालाई शीघ्र र सहज बनाउन सम्बन्धित बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग सहकार्य गर्ने नाडाले जनाएको छ।
त्यसैगरी, बाढी तथा डुबानबाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने योजना पनि नाडाले अघि सारेको छ। अटोमोबाइल क्षेत्रमा परेको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ।
यस कार्यलाई व्यवस्थित बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्य व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गर्ने नाडाको तयारी छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रभावित सदस्य व्यवसायीलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्। क्षतिको प्रमाणित विवरण उपलब्ध भएमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल गर्न सहज हुने नाडाले जनाएको छ।