काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालिको डाटा सेन्टरमा आश्विन ४ गते बिहानदेखि देखिएको प्राविधिक समस्याका कारण कारोबार प्रणाली प्रभावित हुने जोखिम देखिएपछि कारोबार रोकिएको हो।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतबारदेखि साइबर आक्रमणका कारण समस्या देखिएको हो। उक्त समस्याका कारण ७२ वटा ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।
डाटा हबमा समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन। अधिकांश ब्रोकरको टीएमएस प्रभावित भएकाले यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम रहेको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार १२ वटा ब्रोकर कम्पनीको आफ्नै टीएमएस रहेकाले ती कम्पनीको प्रणाली सञ्चालन गर्न सकिने अवस्था भए पनि अधिकांश ब्रोकरको प्रणाली प्रभावित भएकाले आजको नियमित कारोबार सत्र स्थगित गरिएको हो।
यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।
नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आजको कारोबार स्थगित गरेको जनाएको छ। डाटा हबमा नेप्सेसहित करिब १७-१८ वटा सरकारी निकायका रेकर्डसमेत रहेको बताइएको छ।