सुयोग्य साकोसको १९औँ साधारण सभा सम्पन्न, सदस्यलाई ५ प्रतिशत लाभांश

सुयोग्य साकोसको १९औँ साधारण सभा सम्पन्न, सदस्यलाई ५ प्रतिशत लाभांश

काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुनिल के.सी. थिए।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि के.सी.ले अहिले बोल्नेभन्दा पनि काम गरेर देखाउने समय आएको बताए। मुलुकका धेरै सहकारीले राम्रो काम गरिरहेको उल्लेख गर्दै उनले त्यस्ता सहकारीको प्रवद्र्धनमा आफूले सहयोग गर्ने बताए।

गलत काम गर्ने सहकारीलाई कानुनी दायरामा ल्याई सदस्यको बचत फिर्ता गराउनेतर्फ सरकार अघि बढिरहेको उनले बताए। आफू कानुन निर्माण गर्ने स्थानमा रहेकाले सहकारी क्षेत्रलाई अप्ठ्यारो पार्ने ऐन तथा नियम संशोधनका लागि पहल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

काठमाडौं क्षेत्र नं. २ का जनप्रतिनिधिका रूपमा आफूले गरिरहेका कामबारे सल्लाह तथा सुझाव दिन आग्रह गर्दै उनले क्षेत्रको शिर निहुरिन नदिने गरी काम गर्ने बताए। पछिल्लो समय रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति ध्यान दिँदै उनले उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्न पनि आग्रह गरे। मानवसेवा सबैभन्दा ठूलो धर्म भएकाले सामाजिक कार्यमा जोडिन उनले सबैलाई आह्वान गरे।

सभामा संस्थाकी प्रमुख सल्लाहकार चित्रकुमारी थाम्सुहाङ सुब्बाले सुयोग्य सहकारीले सदस्यको समृद्धि र सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताइन्। संस्थाले सदस्यलाई वित्तीय सेवासँगै सुख–दुःखमा साथ दिने विभिन्न सामाजिक तथा सदस्य कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो।

उनका अनुसार संस्थाले सदस्यको मृत्यु हुँदा मृत्यु संस्कार खर्च, बिरामी हुँदा उपचार खर्च तथा महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ। बाल सदस्यलाई जन्मदिनमा केक उपहार दिने व्यवस्था समेत संस्थाले गरेको उनले जानकारी दिइन्।

संस्थाले सदस्यलाई विषादीरहित तरकारी उत्पादनतर्फ प्रोत्साहित गर्न कौसीखेती कार्यक्रम सञ्चालन गरेको छ। यस्तै, ग्रामर स्कुलसँग सम्झौता गरी सदस्यका छोराछोरीलाई सहुलियत दरमा अध्ययन गर्ने वातावरण मिलाइएको सभामा जानकारी दिइयो।

संस्थाको आन्तरिक नियन्त्रण प्रणाली बलियो रहेको उल्लेख गर्दै सुब्बाले लेखा सुपरीवेक्षण समितिका संयोजक वित्तीय विश्लेषकसमेत रहेकाले समय–समयमा संस्थाको समग्र वित्तीय विश्लेषण हुँदै आएको बताइन्। संस्थाको वित्तीय अवस्था सन्तुलित र सुरक्षित रहेकाले सदस्यको विश्वास बढ्दै गएको उनको भनाइ थियो।

संस्थाले सदस्यको सन्तुष्टिको स्तर तथा समाजमा पारेको प्रभावका विषयमा सामाजिक परीक्षणसमेत गरेको जनाएको छ। वित्तीय तथा डिजिटल साक्षरता र सहकारी शिक्षाका कार्यक्रमहरूमा निरन्तर सहभागी हुन उनले सदस्यलाई आग्रह गरिन्।

सभामा अध्यक्ष लिम्बुले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संस्थागत सुशासनलाई केन्द्रमा राखेर जवाफदेही ढंगले संस्था सञ्चालन गर्दै आएको बताए।

सदस्यको बचत सुरक्षाको प्रत्याभूतिसहित सुरक्षित रूपमा ऋण लगानी गरी जोखिम न्यूनीकरण गर्दै लगिएको उनले जानकारी दिए। सहकारीसम्बन्धी ऐन, कानुन तथा नियामक निकायबाट जारी निर्देशन र मापदण्डको पालना गर्दै संस्था अघि बढिरहेको उनको भनाइ थियो।

संस्थाले सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्न इजाजतपत्र लिइसकेको र नियामकलाई बुझाउनुपर्ने प्रतिवेदन तथा कोपोमिस प्रणाली नियमित रूपमा अद्यावधिक गर्दै आएको अध्यक्ष लिम्बुले बताए।

गत आर्थिक वर्षमा संस्थामा १६० जना नयाँ सदस्य थपिएका छन्। यससँगै संस्थाको कुल सदस्य संख्या १ हजार ६८३ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड ३ लाख रुपैयाँ, बचत ४० करोड ३९ लाख रुपैयाँ र ऋण लगानी ३१ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

संस्थाले विशेषगरी उद्यम, व्यवसाय, कृषि, जग्गा तथा आवास, शिक्षा लगायत सदस्यको मागअनुसार विभिन्न क्षेत्रमा ऋण लगानी गर्दै आएको जनाएको छ। गत आर्थिक वर्षमा संस्थाले २९ लाख ८० हजार रुपैयाँ करमा योगदान गरेको छ।

संस्थाले सञ्चालनमा ल्याएको मोबाइल बैंकिङ लगायत विद्युतीय सेवाको प्रयोग पनि बढ्दै गएको जनाएको छ। गत आर्थिक वर्षमा ४९ जना नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएसँगै कुल प्रयोगकर्ता संख्या ४९७ पुगेको छ।

समुदायका विभिन्न क्षेत्रमा संस्थाको स्रोतसाधनले भ्याएसम्म आर्थिक सहयोग गर्दै आएको समेत अध्यक्ष लिम्बुले जानकारी दिए।

साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सदस्यलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै, बचत तथा ऋणको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम वितरण गर्ने निर्णयसमेत गरेको छ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक ओमकृष्ण श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानी गर्दा ऋणको जोखिमलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा उत्कृष्ट प्रविधि प्रयोगकर्ता सदस्यलाई नगदसहित सम्मान गरिएको थियो।