काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा कुल विदेशी विनिमय सञ्चिति झण्डै साढे ३९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजजिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई साउन मसान्तमा ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा साउन मसान्तमा २.१ प्रतिशतले वृद्धि भई २५ अर्ब ८४ करोड पुगेकोछ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा साउन मसान्तमा १.३ प्रतिशतले वृद्धि भई ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा चार खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा साउन मसान्तमा ०.९ प्रतिशतले वद्धि भई ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ ।
साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ
चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहको राष्ट्र बैंकले जनाएको छ ।
साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५९.८ प्रतिशत, १५७.० प्रतिशत र ४४.५ प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।