एघार बैंकहरुको लाभांश घोषणा, अधिकांशले दशैँअघि नै बाँड्ने 

एघार बैंकहरुको लाभांश घोषणा, अधिकांशले दशैँअघि नै  बाँड्ने 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। लाभांश घोषणा गर्ने संस्थामा ६ वाणिज्य बैंक, ४ विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेका छन्।

लाभांश घोषाणा गर्ने बैंकमध्ये गरिमा विकास बैंकको सबैभन्दा बढी २० प्रतिशत रहेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस्तै लाभांश घोषणा गरेका अधिकांश बैंकहरुले साधारणसभा र बुक क्लोजको मिति पनि तय गरेसकेका छन् । अधिकांशले दशैँअघि नै लाभांश बाँड्ने तयारी गरेका छन्  

ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश

ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न बैंकले असोज १६ गते, शुक्रबार, २० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा नेपाल पुलिस क्लब, भृकुटीपमण्डप, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एभरेष्ट बैंकको १५ प्रतिशत लाभांश

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश प्रस्ताव गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज १४ गते बुधबार काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ। जसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कायम शेयरधनीले सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश  प्रस्ताव

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने पूस्ताव गरेको छ । भदौ २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै, बैंकले अग्राधिकार शेयरतर्फ ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारित गर्न बैंकले असोज २२ गते, बिहीबार, ४२ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज १३ गतेसम्म  कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकको १० प्रतिशत नगद लाभांश

सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ। साधारण शेयरधनीलाई बैंकले एक अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, अग्राधिकार शेयरधनीलाई शेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा करसहित ८।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। अग्राधिकार शेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ छुट्याइएको छ।

बैंकले साधारण तथा अग्राधिकार शेयरधनीलाई गरी कुल एक अर्ब ४१ करोड ५ लाख ९० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सानिमा बैंकले प्रस्तावित लाभांश पारित गर्न असोज १२ गते काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा २२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनी लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कुमारी बैंकको २.१०५३ प्रतिशत लाभांश 

कुमारी बैंक लिमिटेडले २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने 

माछापुच्छ्रे बैंक लिमिटेडले ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै, बैंकले अग्राधिकार शेयरतर्फ ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।

गरिमा विकास बैंकको सबैभन्दा बढी २० प्रतिशत

गरिमा विकास बैंकले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले उक्त निर्णय गरेको हो।

बैंकले हाल कायम ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ। बैंकले असोज २६ गते, सोमबार, २० औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १३ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १०।५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेको छ।

४ प्रतिशत बोनस शेयरबापत १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा छुट्याइएको छ।

बोनस तथा नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न बैंकले असोज २२ गते, बिहीबार, एलिस रिसेप्सन, गैरीधारा, काठमाडौँमा बाईसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज ७ गतेसम्म कायम शेयरधनीहरुहरु साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश

कामना सेवा विकास बैंक लिमिटेडले साधारण शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

बैंकको कुल चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसा रहेको छ। साधारण शेयर पूँजीको १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ९५ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

अग्राधिकार शेयरधनीका लागि एक करोड ४० लाख ६७ हजार ९२३ रुपैयाँ २९ पैसा लाभांश प्रस्ताव गरिएको छ। बैंकले प्रस्तावित लाभांश पारित गर्न भदौ ३१ गते काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनी, बालुवाटार रोडमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले भदौ १८ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

शाइन रेसुङ्गा बैंकको १६ प्रतिशत लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित नगद लाभांशमा बोनस सेयरबापतको करसमेत समावेश गरिएको बैंकले जनाएको छ । सञ्चालक समितिको प्रस्तावअनुसार लाभांश वितरणका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट लाभांशसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ । बैंकले वितरण गर्न प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयरले चुक्तापूँजी वृद्धि हुनेछ भने १० प्रतिशत नगद लाभांश शेयरधनीलाई प्रत्यक्ष प्रतिफलका रूपमा प्राप्त हुनेछ। लाभांश वितरणपछि बैंकको पुँजी संरचनामा समेत परिवर्तन आउनेछ ।

निफ्राको ५.२६ प्रतिशत नगद लाभांश

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निफ्राको प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।