पूँजी बजार पुनरुत्थान कार्ययोजनाको ब्रोकर संघद्वारा स्वागत
काठमाडौं : स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनाले पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार तयार गर्ने बताएका छन्।
ढकालले कार्ययोजनामा आईपीओमा प्राइस डिस्कभरी प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बन्ड बजारको विकास गर्ने, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानीको अवसर दिने तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने व्यवस्था समेटिएको बताए।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) तथा धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने योजनाले बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था पनि सकारात्मक रहेको ढकालले बताए।
उनका अनुसार यस्तो व्यवस्थाले दीर्घकालीन लगानी संस्कृतिको विकाससँगै बजारमा स्थायित्व र लगानीकर्ताको विश्वास बढाउन सहयोग गर्नेछ।
सरकारले घोषणा गरेका सुधारहरू समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन भए पूँजी बजारप्रतिको लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता बढ्ने तथा मुलुकको आर्थिक विकासमा पूँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने ढकालले बताए।
पूँजी बजार सुधारप्रति सरकारले देखाएको प्रतिबद्धताका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै ढकालले कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।