काठमाडौं : एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज सम्पन्न साधारण सभाले दक्षिण कोरियाका यङ–चुल कोचलाई अकूको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, थाइल्यान्डका दानुक्रित कटाम्पाकोम प्रथम उपाध्यक्ष र नेपालका चन्द्रप्रसाद ढकाल द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन् । ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष हुन् ।
नयाँ कार्यसमितिको सचिवमा फिलिपिन्सका रे डी. लाबासानो र कोषाध्यक्षमा ताइवानका लियो चुन फोङ निर्वाचित भएका छन् ।
त्यसैगरी, इन्डोनेसियाका डा. वारे साबोर डोमिनिकस प्रथम वैकल्पिक सञ्चालक र श्रीलंकाका एल. बी. देसनायके द्वितीय वैकल्पिक सञ्चालकमा निर्वाचित भएका छन् ।
अकूको सञ्चालक समितिमा निर्वाचित कुनै सञ्चालकको पद विभिन्न कारणले रिक्त भएमा पहिलो प्राथमिकतामा रहेका वैकल्पिक सञ्चालक स्वतः सञ्चालक बन्ने प्रचलन रहेको छ।