एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार २६ अर्ब २२ करोड !  

एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार २६ अर्ब २२ करोड !  

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सवा २६ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार साउन मसान्तसम्म कम्पनीहरुले २६ अर्ब २२ करोड  ५१ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले तीन लाख ८५ हजार ९२१ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

यस अवधिमा मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३४ हजार २४५ बीमालेख बिक्री गरी छ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १८ हजार ९९० बीमालेख जारी गरी दुई अर्ब ९१ करोड ३१ लाख रुपैयाँको व्यापार गरेको छ । 
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले तीन हजार ९७८ बीमालेख जारी गरी २ अर्ब १४ करोड १४ लाख ७९ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले दुई अर्ब २९ करोड ४१ लाख २९ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । 

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले २३ हजार १०७ बीमालेख जारी गरी तीन अर्ब ९९ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।  यस अवधिमा एशियन लाइफले एक अर्ब ११ करोड ११ लाख ७८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सूर्यज्योति लाइफले एक अर्ब ५१ करोड ७९ लाख रुपैयाँको व्यापार गरेको छ । 

अर्ब क्लबमा पुगेनन् सात कम्पनी

साउन मसान्तसम्म सात कम्पनीहरुले भने एक अर्ब भन्दा कमको व्यवसाय गरेका छन् । यस अवधिमा मेट लाइफले ६० करोड २८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै आईएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ, सन नेपाल लाइफले ४६ करोड ६९ लाख, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

चालु आवको साउनसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ९६ करोड एक लाख ९१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सानिमा रिलायन्सले ८५ करोड ४३ लाख र प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । 

लघुबीमाको व्यापार १० करोडमाथि  

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । साउन मसान्तसम्म कम्पनीहरुले २ लाख ८५ हजार ८६९ बीमालेख जारी गरी १० करोड १८ लाख ६५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले तीन करोड ८६ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले दुई करोड १७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले चार करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट ६९ हजार ७३१ बीमालेख जारी गरी २९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 


 

थप समाचार