काठमाडौं : आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले सन् २०२६ मा तीन अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँले बढेको हो ।
सन् २०२५ मा कम्पनीले तीन अर्ब २६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२४ मा २ अर्ब ३४ करोड ७० लाख, सन् २०२३ मा एक अर्ब ७५ करोड १० लाख र सन् २०२२ मा तीन अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
आम्दानीसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२५ मा ११.६ प्रतिशत रहेको कम्पनीको यस्तो नाफा मार्जिन सन् २०२६ मा बढेर १५.६ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको ब्याज तिर्ने क्षमता पनि १.७ गुणाबाट बढेर २.६ गुणा पुगेको छ भने ऋणको साँवा तथा ब्याज भुक्तानी क्षमता ०.८ गुणाबाट बढेर १.९ गुणा पुगेको छ।
कम्पनीको ऋणभारमा पनि उल्लेख्य सुधार आएको छ। कुल ऋण र खुद सम्पत्तिको अनुपात सन् २०२५ मा ३.९ गुणा रहेकोमा सन् २०२६ मा २.३ गुणामा झरेको छ। कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात पनि ४ गुणाबाट घटेर २.४ गुणा पुगेको छ।
आईएमई मोटर्स नेपालमा भारतीय व्यावसायिक सवारी उत्पादक अशोक लेल्यान्डको आधिकारिक तथा एकमात्र राष्ट्रिय वितरक हो। कम्पनीले बस, लाइट कमर्सियल भेहिकल, इन्टरमिडिएट तथा मिडियम कमर्सियल भेहिकल, ट्रक र टिप्परलगायतका सवारी बिक्री गर्दै आएको छ।
पछिल्लो समयमा विशेषगरी इन्टरमिडिएट र मिडियम कमर्सियल सवारी तथा ट्रक-टिप्पर खण्डमा बिक्री बढेपछि कम्पनीको आम्दानी र नाफामा सुधार आएको बताइएको छ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । सन् २०१० मा स्थापना भएको आइएमई मोटर्स सुरुमा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडका रूपमा सञ्चालनमा आएको थियो । कम्पनीले त्यसबेला डिजिटल टेलिभिजन सेवा प्रदायक डिसहोमको विक्रेता कारोबार गर्दै आएको थियो ।
सन् २०१५ देखि हिन्दुजा ग्रुपअन्तर्गतको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्ड लिमिटेडको आधिकारिक विक्रेताका रूपमा कारोबार सुरु गरेको कम्पनीको नाम सन् २०१७ मा परिवर्तन गरी आइएमई मोटर्स प्रालि राखिएको हो ।
आईएमई मोटर्सको दीर्घकालीन कर्जा सीमा यसअघि २ अर्ब १२ करोड ९० लाख रुपैयाँ रहेकोमा हाल एकअर्ब ३० करोड ९० लाख रुपैयाँको सीमा रेटिङ गरिएको छ।
त्यस्तै, अल्पकालीन कर्जा सीमा १ अर्ब १२ करोड १० लाख रुपैयाँबाट १ अर्ब ११ करोड ५० लाख रुपैयाँ कायम गरिएको छ। कम्पनीको कुल रेटिङ गरिएको कर्जा सीमा अहिले २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ रहेको छ।