Below Menu

बाढीपीडितका लागि सहयोग पठाउँदा भुलवश ९ लाख बढी ट्रान्सफर, रकम फिर्ता हुने

बाढीपीडितका लागि सहयोग पठाउँदा भुलवश ९ लाख बढी ट्रान्सफर, रकम फिर्ता हुने

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने क्रममा सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भुलवश तोकिएकोभन्दा ९ लाख रुपैयाँ बढी रकम ट्रान्सफर भएको जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ योगदान गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार ग्लोबल आइएमई बैंकको खाताबाट कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने क्रममा १० लाख १ हजार १ रुपैयाँ पठाइएको संस्थाले जनाएको छ। निर्धारित रकमभन्दा ९ लाख रुपैयाँ बढी ट्रान्सफर भएको थाहा पाएपछि सहकारीले तत्काल बैंक तथा सम्बन्धित निकायलाई जानकारी गराएको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा रकम ट्रान्सफर गर्दा भएको त्रुटिबाट सदस्य, शुभेच्छुक तथा अन्य महानुभावबाट चासो व्यक्त भएको उल्लेख छ।

संस्थाले आफ्नो तर्फबाट भएको त्रुटि तत्काल सच्याउन प्रयास गरिएको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट समितिको निर्णयपछि बढी गएको रकम फिर्ता हुने जानकारी प्राप्त भएको जनाएको छ।

बाढीपीडितका लागि सहयोग गर्ने क्रममा भएको रकम ट्रान्सफरको मानवीय त्रुटिलाई सुयोग्य सहकारीले पारदर्शी रूपमा सार्वजनिक गर्दै बढी गएको रकम फिर्ताको पहल थालेको हो।

थप समाचार