काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लाहरूमा राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नाडाले विज्ञप्तिमार्फत बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नाडाले राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै रहेर उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। विपद् व्यवस्थापनमा सरकार, निजी क्षेत्र र नागरिक समाजको सामूहिक भूमिका आवश्यक रहेको उल्लेख गर्दै नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न आह्वान गरेको छ।
विपद्पछिको अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति पनि नाडाले कृतज्ञता व्यक्त गरेको छ। प्रभावित जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्ने, उद्धार तथा राहत उडानहरूको समन्वय गर्ने र निजी क्षेत्रलाई समेत विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गर्ने सरकारी प्रयासप्रति नाडाले उच्च कदर गरेको जनाएको छ।
नाडाले देशको आर्थिक संरचनालाई सशक्त बनाउन तथा आर्थिक गतिविधिको निरन्तरतामा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ।
यसैबीच, महाविपद्को अवस्था नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला आएको भए पनि भृकुटीमण्डपमा जारी अटो शो निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्को सामना गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर अटो शोलाई निरन्तरता दिइएको नाडाको भनाइ छ।
नाडा अध्यक्ष सुरेन्द्र उप्रेतीले सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने बताएका छन्।