काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी अपिलमा प्राकृतिक विपद्को कठिन घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र, नियामक निकाय, सहकारी संघ/संस्था तथा नागरिक समाजलाई हातेमालो गर्न आग्रह गरिएको छ।
नेफ्स्कूनले तत्काल राहत तथा पुनर्स्थानमा सहयोग पुर्याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, सहकारी संघ/संस्था तथा विषयगत संघहरूलाई राज्यद्वारा घोषित आधिकारिक राहत कोष वा बैंक खातामार्फत आफ्नो संस्थागत क्षमताअनुसार स्वेच्छिक आर्थिक योगदान गर्न नेफ्स्कूनले आह्वान गरेको छ।
संघले अभियानमार्फत प्राप्त हुने सम्पूर्ण योगदान र एक्यबद्धतालाई एकीकृत गरी पारदर्शी अभिलेख तयार गर्ने जनाएको छ। राहत कोषमा जम्मा गरिएको योगदानको भौचर तथा विवरण नेफ्स्कूनको केन्द्रीय कार्यालय वा इमेलमार्फत उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।
त्यसैगरी, प्रभावित क्षेत्रमा रहेका स्थानीय सहकारी संघ/संस्थालाई नियामक निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी भौतिक, स्वयंसेवी तथा व्यवस्थापकीय सहयोगमा सक्रिय रूपमा जुट्न नेफ्स्कूनले अनुरोध गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।
नेफ्स्कूनले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।