Below Menu

करिब ३९ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति

करिब ३९ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति

काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा विदेशी विनिमय सञ्चिति करिब ३९ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई असार मसान्तमा रु.३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ असार मसान्तमा २९.८ प्रतिशतले वृद्धि भई २५ अर्ब ३१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा असार मसान्तमा ४३.८ प्रतिशतले वृद्धि भई रु.३४ खर्ब ७३ अर्ब १९ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा गत असार मसान्तमा ६१.४ प्रतिशतले वद्धि भई रु.४२४ अर्ब ४८ करोड कायम भएको छ । 

असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८२/८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६३.८ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । 

यस्तो छ देशको आर्थिक स्थिति 

▪ आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो ।

 ▪ २०८३ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को औसत मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ ।

▪ कुल विदेशी विनिमय सञ्चिति रु.३८९७ अर्ब ६७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २५ अर्ब ३१ करोड पुगेको छ । यस्तो सञ्चिति १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

▪ चालु खाता रु.९२३ अर्ब ५६ करोड र शोधनान्तर रु.१०२७ अर्ब ०४ करोड बचतमा रहेको छ । 

▪ समिक्षा अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३७.१ प्रतिशतले र अमेरिकी डलरमा २८.१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असार महिनाको विप्रेषण आप्रवाह रु.२४२ अर्ब ३३ करोड रहेको छ ।

▪ निर्यात १३.८ प्रतिशतले र आयात १६.२ प्रतिशतले बढेको छ ।

▪ नेपाल सरकारको खर्च रु.१५८२ अर्ब १७ करोड र राजस्व परिचालन रु.१२४१ अर्ब ३२ करोड रहेको छ । 

▪ विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको थियो ।

▪ बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १३.९ प्रतिशतले वृद्धि भई रु.८२७६ अर्ब ९३ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले वृद्धि भई रु.५८५७ अर्ब ६ करोड पुगेको छ ।

▪ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३२ प्रतिशत रहेको छ ।

▪ वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.५५ प्रतिशत रहेको छ ।

थप समाचार