काठमाडौं : जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा दुई खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्म कम्पनीहरुले दुई खर्ब एक करोड ९१ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।
यस अवधिमा कम्पनीहरुले एक करोड १८ लाख ५० हजार ३९१ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा १२.४२ प्रतिशत अर्थात २२ अर्ब ११ करोड २८ लाख रुपैयाँले बढी हो । कम्पनीहरुले अघिल्लो वर्ष एक करोड १५ लाख २७ हजार ९९४ बीमालखे जारी थगरी एक खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
प्राधिकरणका अनुसार असारमा मात्रै कम्पनीहरुले ५ लाख ८२ हजार ४०७ बीमालेख जारी गरी २८ अर्ब आठ करोड ८२ लाख १७ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
असार मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १९ लाख ८२ हजार ९२३ बीमालेख बिक्री गरी ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख ३३ हजार ६५९ बीमालेख जारी गरी २४ अर्ब ६८ करोड ५७ लाख ४९ हजार रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले सात लाख आठ हजार ५७ बीमालेख जारी गरी २१ अर्ब २३ करोड ३९ लाख ३४ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख ८७ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ६३ हजार २५८ बीमालेख जारी गरी ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले छ अर्ब ८६ करोड तीन लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै एशियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख ४८ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले छ अर्ब ४२ करोड आठ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब १६ करोड ८९ लाख ७२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
गत आर्थिक वर्षमा सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख, सानिमा रिलायन्सले ७ अर्ब ९९ करोड ४२ लाख र प्रभु महालक्ष्मी लाइफले छ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार सवा एक अर्बमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । असार मसान्तसम्म कम्पनीहरुले २४ लाख ९३ हजार ३४७ बीमालेख जारी गरी एक अर्ब २१ करोड आठ लाख ९५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ४२ करोड ६९ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ४१ करोड ८० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ३६ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २४ लाख ४८ हजार ४९२ बीमालेख जारी गरी तीन अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।