काठमाडौं : काठमाडौंको थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (साकोस) ले सार्वजनिक यातायातलाई डिजिटल प्रविधिसँग जोड्दै नगदरहित (Cashless) भुक्तानी सेवाको सुरुवात गरेको छ।
संस्थाले सोमबार (श्रावण १८) पत्रकार सम्मेलनको आयोजना गरी फिनटेक इन्टरनेसनल प्रालिसँग सहकार्य गरी जीपीएस र एनएफसीयुक्त ‘यात्रा कार्ड’ सेवा शुभारम्भ गरेको हो। उक्त सेवाको औपचारिक शुभारम्भ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल र चन्द्रागिरि साकोसका अध्यक्ष शिवशंकर मानन्धर ले संयुक्त रूपमा गरेका थिए।
संस्थाका अनुसार सार्वजनिक यातायातमा यस्तो डिजिटल भुक्तानी प्रणाली सुरु गर्ने पहिलो सहकारी संस्थाको रूपमा चन्द्रागिरि साकोसले नयाँ अभ्यासको सुरुवात गरेको हो।
सदस्यता परिचयपत्र र यात्रा कार्ड एउटै
यस सेवाअन्तर्गत संस्थाका सदस्यहरूले दोहोरो प्रयोजनयुक्त एनएफसी (Near Field Communication–NFC) कार्ड प्रयोग गर्न सक्नेछन्। एउटै कार्डले सदस्यता परिचयपत्र र सार्वजनिक यातायातको यात्रा कार्ड दुवैको काम गर्नेछ।
कार्डमार्फत यात्रुले नगद बोक्नुपर्ने आवश्यकता हट्ने, छिटो तथा सुरक्षित रूपमा भाडा भुक्तानी गर्न सकिने र आवश्यकताअनुसार सहजै रिचार्ज गरी प्रयोग गर्न सकिने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए।
डिजिटल सहकारी अभियानमा नयाँ उपलब्धि
पत्रकार सम्मेलनमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले यो सेवा केवल नयाँ भुक्तानी प्रणाली मात्र नभई सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउने अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए।
‘चन्द्रागिरि साकोसलाई आधुनिक प्रविधिसँग जोड्दै सदस्यहरूलाई सहज, सुरक्षित र विश्वसनीय डिजिटल सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो। सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सेवा त्यसैको एउटा महत्वपूर्ण सुरुवात हो’, सीईओ श्रेष्ठले भने।
देशभर विस्तार गर्ने लक्ष्य
हाल काठमाडौंमा सञ्चालन हुने रिद्धिसिद्धि यातायातका बसहरुमा जीपीएस र एनएफसीयुक्त ‘यात्रा कार्ड’ सुरु भएको बताउँदै फिनटेक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित श्रेष्ठले देशभरका यातायातहरुमा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए।

यात्रुले बसमा जडान गरिएको भ्यालिडेटर मसिनमा स्मार्ट कार्ड छुवाएर भाडा तिर्न सक्छन् । बसमा चढ्दा यात्रुले भ्यालिडेटर मसिनमा ‘ट्याप इन’ र गन्तव्यमा पुगेर ओर्लिने बेला ‘ट्याप आउट’ गर्नुपर्ने हुन्छ।
प्रणालीको ब्याक इन्डमा सम्बन्धित रुटको भाडादर पहिल्यै सेट गरिएको हुन्छ । ‘यात्रुले बस चढ्ने बेला ट्याप इन गर्दा मसिनले उक्त रुटको अधिकतम भाडा होल्ड गर्छ । जब यात्रु गन्तव्यमा पुगेर ट्याप आउट गर्छन्, तब मसिनले यात्रा गरेको दूरीको मात्र भाडा काटेर बाँकी रकम कार्डमै फिर्ता गरिदिन्छ ।’
प्रविधिमा चन्द्रागिरि साकोसको, दिलायो अन्तर्राष्ट्रिय अवार्ड
चन्द्रागिरि साकोसले विश्व ऋण परिषद् (WOCCU) बाट ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्राप्त गर्दै नेपाली बचत तथा ऋण सहकारी अभियानलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाएको छ। यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली साकोस बनेसँगै संस्थाले यसलाई आफ्नो मात्र नभई समग्र नेपाली सहकारी अभियानकै ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ।
अष्ट्रेलियाको सिड्नीमा आयोजित अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन–२०२६ अन्तर्गत जुलाई २१ मा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारणसभामा चन्द्रागिरि साकोसलाई उक्त अवार्ड प्रदान गरिएको हो। डिजिटल वित्तीय सेवा विस्तार, प्रविधिमैत्री सदस्य सेवा, वित्तीय समावेशीकरण र नवप्रवर्तनमा संस्थाले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै परिषद्ले सम्मान प्रदान गरेको जनाएको छ।
संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले अन्तर्राष्ट्रिय सम्मानले चन्द्रागिरि साकोसको डिजिटल यात्रालाई विश्वस्तरमा स्थापित गर्नुका साथै नेपालको सहकारी क्षेत्रप्रतिको सकारात्मक सन्देश प्रवाह गरेको बताए।
उनका अनुसार उक्त सम्मान विगतको सफलताको उत्सव मात्र नभई आगामी दिनमा अझ उत्कृष्ट सेवा र नवप्रवर्तनमार्फत सदस्यप्रति थप उत्तरदायी बन्ने प्रेरणा पनि हो। परम्परा र प्रविधिबीच सन्तुलन कायम गर्दै सदस्य केन्द्रित सेवा विस्तारलाई संस्थाले निरन्तरता दिने उनको भनाइ छ।
डिजिटल प्रविधिका साझेदारको योगदान
चन्द्रागिरि साकोसको डिजिटल रूपान्तरण यात्रामा प्रविधि साझेदार कम्पनीहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ। संस्थाले विश्व ऋण परिषद् (WOCCU) बाट ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्राप्त गर्न सफल हुनुमा सदस्यकेन्द्रित डिजिटल सेवाको विस्तारसँगै आधुनिक प्रविधिको प्रभावकारी प्रयोगलाई पनि प्रमुख आधारका रूपमा हेरिएको छ।
हाल चन्द्रागिरि साकोसले एमबैंक टेक्नोलोजिज प्रा. लि.ले विकास गरेको ‘एम बैंक’ मोबाइल बैंकिङ एप तथा प्रिमियम टेक्नोलोजिज प्रा. लि.ले विकास गरेको प्रिमियम सीबीएस (Core Banking System) प्रयोग गर्दै आएको छ।
चन्द्रागिरि साकोसले एम बैंकको मोबाईल बैंकिङ सेवा विगत सात वर्षदेखि प्रयोग गर्दै आएको छ। एम बैंकले हालै एफडी (Fixed Deposit) धितोमा कर्जा (Loan Against FD), आवधिक बचत (Periodic Account) धितोमा कर्जा (Loan Against Periodic Account) तथा डिजिटल केवाईएम (Know Your Member–KYM) अपडेट सेवा सञ्चालनमा ल्याएको छ।
यी प्रविधिमार्फत संस्थाले डिजिटल बैंकिङ, सदस्य सेवा, कारोबार व्यवस्थापन तथा वित्तीय सेवालाई थप सुरक्षित, छिटो र प्रभावकारी बनाउँदै आएको जनाएको छ।
संस्थाका अनुसार फिनटेक साझेदारहरूसँगको सहकार्यले डिजिटल सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्याएको छ भने सार्वजनिक यातायातका लागि सुरु गरिएको जीपीएस र एनएफसीयुक्त ‘यात्रा कार्ड’ सेवा पनि सोही डिजिटल यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो।