ओकूको अवार्डले चन्द्रागिरि साकोससँगै नेपाली सहकारी अभियानलाई दिलायो ऐतिहासिक पहिचान

ओकूको अवार्डले चन्द्रागिरि साकोससँगै नेपाली सहकारी अभियानलाई दिलायो ऐतिहासिक पहिचान

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस) ले विश्व ऋण परिषद् (WOCCU) बाट ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ प्राप्त गर्दै नेपाली बचत तथा ऋण सहकारी अभियानलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाएको जनाएको छ। यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली साकोस बनेसँगै संस्थाले यसलाई आफ्नो मात्र नभई समग्र नेपाली सहकारी अभियानकै ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ।

अष्ट्रेलियाको सिड्नीमा आयोजित अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन–२०२६ अन्तर्गत जुलाई २१ मा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारणसभामा चन्द्रागिरि साकोसलाई उक्त अवार्ड प्रदान गरिएको हो। डिजिटल वित्तीय सेवा विस्तार, प्रविधिमैत्री सदस्य सेवा, वित्तीय समावेशीकरण र नवप्रवर्तनमा संस्थाले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै परिषद्ले सम्मान प्रदान गरेको जनाएको छ।

उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले अन्तर्राष्ट्रिय सम्मानले चन्द्रागिरि साकोसको डिजिटल यात्रालाई विश्वस्तरमा स्थापित गर्नुका साथै नेपालको सहकारी क्षेत्रप्रतिको सकारात्मक सन्देश प्रवाह गरेको बताए।

उनका अनुसार उक्त सम्मान विगतको सफलताको उत्सव मात्र नभई आगामी दिनमा अझ उत्कृष्ट सेवा र नवप्रवर्तनमार्फत सदस्यप्रति थप उत्तरदायी बन्ने प्रेरणा पनि हो। परम्परा र प्रविधिबीच सन्तुलन कायम गर्दै सदस्य केन्द्रित सेवा विस्तारलाई संस्थाले निरन्तरता दिने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरिको सफलता सम्पूर्ण नेपाली साकोस अभियानकै गौरव भएको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सहकारीप्रतिको विश्वास बढाएको बताए।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले पनि डिजिटल नवप्रवर्तनमा चन्द्रागिरि साकोसले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै विश्वस्तरीय सम्मानसँगै संस्थामाथि थप जिम्मेवारी पनि थपिएको धारणा राखे। उनले सदस्य सेवालाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थप नवप्रवर्तन आवश्यक रहेको बताए।

चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको करिब ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने जानकारी दिँदै मोबाइल बैंकिङ, एटीएम, क्यूआर भुक्तानी लगायतका सेवाले सदस्यको पहुँच सहज बनाएको बताए। करिब २४ हजार सदस्यमध्ये झण्डै आधाले मोबाइल बैंकिङ प्रयोग गरिरहेको र ४० प्रतिशत सदस्य युवा रहेको जानकारी दिँदै उनले डिजिटल रूपान्तरणले सहकारी क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढाएको उल्लेख गरे।

श्रेष्ठले पछिल्लो सम्मानले राम्रो काम गरिरहेका सहकारी संस्थाहरूको सकारात्मक पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सहकारीप्रति फैलिएका नकारात्मक धारणा चिर्न उत्कृष्ट अभ्यास र सदस्य केन्द्रित सेवाहरूलाई अझ प्रभावकारी रूपमा सार्वजनिक गर्न आवश्यक रहेको उनको भनाइ थियो।

संस्थाले वर्षभरि (३६५ दिन) काउन्टर सेवा, २४सै घण्टा डिजिटल सेवा, महिला सशक्तीकरण कार्यक्रम, सामाजिक सुरक्षा, एम्बुलेन्स तथा शववाहन सेवा लगायत सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका अनुसार हाल शेयर पुँजी २२ करोड ९२ लाख रुपैयाँ, जगेडा कोष ११ करोड २९ लाख रुपैयाँ, कुल संस्थागत पुँजी ३४ करोड २४ लाख रुपैयाँ, बचत संकलन ३ अर्ब ९ करोड रुपैयाँ, ऋण लगानी २ अर्ब २८ करोड रुपैयाँ तथा कुल सम्पत्ति ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

थप समाचार