काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १० करोड ६६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले सात करोड १४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा संस्थाको नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४४.३९ प्रतिशत बढेको छ। त्यस्तै संस्थाको कुल सञ्चालन आम्दानी १६.७८ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष ३ करोड ८२ लाख २८ हजार रुपैयाँ रहेको संस्थाको इम्पेरमेन्ट चार्ज बढेर ६ करोड सात लाख ७२ हजार रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा अघिल्लो वर्षको ७.४८ प्रतिशतबाट बढेर ९.०४ प्रतिशत पुगेको छ ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। असार मसान्तसम्म संस्थाको इपीएस ८.९१ रुपैयाँ बढेर ३१.२६ रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २७.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेको छ।
यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २७.१३ रुपैयाँ रहेको छ।
असार मसान्तसम्म ३४ करोड १० लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सञ्चित नाफा र जगेडा कोष गरी कुल कोष २९ करोड १७ लाख २३ हजार रुपैयाँ पुगेको छ।