काठमाडौं : नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने उद्देश्यसहित कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानी योजना अघि बढाएको छ । कम्पनीले सिमल तरुललाई कच्चा पदार्थका रूपमा प्रयोग गरी इथानोल उत्पादन गर्ने लक्ष्यसहित ११ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने तयारी गरेको हो ।
कियान केमिकल्स इन्डस्ट्रिज प्रालिका अध्यक्ष बेद प्रसाद खरेलका अनुसार कम्पनीको अवधारणा २०७८ सालदेखि सुरु भएको हो । २०७९ सालमा कम्पनी दर्ता गरी उद्योग विभागबाट आवश्यक प्रक्रिया पूरा गर्दै उत्पादन अनुमति समेत लिइसकेको उनले बताए ।
‘हामीले कियान केमिकल्स र कियान एग्रिकल्चर गरी दुईवटा कम्पनी स्थापना गरेका छौँ । एउटा उद्योग स्थापना गरेर इथानोल उत्पादन गर्ने र अर्को कम्पनीमार्फत आवश्यक कच्चा पदार्थ उत्पादन गर्ने हाम्रो योजना हो,‘ खरेलले भने । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष खरेलले कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक प्रारम्भिक तयारी पूरा गरिसकेको जानकारी दिए ।
‘सरकारले उत्पादनका लागि आशयपत्र उपलब्ध गराउने हो भने हामी तुरुन्तै इथानोल उत्पादन प्रक्रियामा जान सक्छौँ । जग्गा खरिददेखि अन्य तयारी पूरा गरिसकेका छौँ,’ उनले भने । कियान केमिकल्सले नेपालका तीन प्रदेशमा इथानोल उत्पादन केन्द्र स्थापना गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशमा गरी तीनवटा उद्योग स्थापना गरिनेछ ।
रौतहटस्थित कटहरिया नगरपालिकामा करिब १० बिघा जग्गा खरिद गरिसकेको अध्यक्ष खरेलले बताए । उक्त स्थानमा उद्योग स्थापना गर्ने तयारी अघि बढाइएको छ । ‘हामीले अहिलेसम्म करिब २६ करोड रुपैयाँ लगानी गरिसकेका छौँ । जग्गा, अध्ययन, अनुसन्धान र प्रारम्भिक तयारीमा यो लगानी भएको हो,‘ उनले भने । कम्पनीमा नेपालसहित अमेरिका, बेलायत र थाइल्यान्डका लगानीकर्ता तथा विज्ञहरू सहभागी छन् ।
अमेरिकाबाट खरेल आफुसहित खगेन्द्र जिसी र कला खरेलको समूह, बेलायतबाट विकास चुडाल तथा थाइल्यान्डबाट गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका संजय ढकाल सहभागी रहेको उनले जानकारी दिए ।
नेपालतर्फ इन्जिनियर तथा केमिस्ट बाबुराम गौतम, बाबुराम शर्मा, मनिष सापकोटा र दिनेश पौडेललगायतको समूह रहेको उनले बताए । कियान समूहले परियोजनालाई प्रभावकारी बनाउन कृषि तथा प्रशासन क्षेत्रका विज्ञलाई समेत जोडेको जनाएको छ । कृषि विज्ञका रूपमा कृषि विभागका पूर्वसहसचिव विष्णु अर्यालले काम गरिरहेको र कृषकसँग सम्बन्धित योजना तथा उत्पादन प्रणाली विकासमा सहयोग गरिरहेको खरेलले बताए । त्यस्तै पूर्वसचिव बाबुराम आचार्यले प्रशासनिक तथा संस्थागत व्यवस्थापन पक्षमा सहयोग गरिरहेको उनले जानकारी दिए ।
इथानोल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सुनिश्चित गर्न कियान एग्रिकल्चर स्थापना गरिएको अध्यक्ष खरेलले बताए । उनका अनुसार कम्पनीले नेपालमा सिमल तरुल खेती विस्तार गर्ने, किसानलाई तालिम दिने, बीउ उपलब्ध गराउने र उत्पादन खरिद गर्ने प्रणाली विकास गर्ने योजना बनाएको छ ।
‘किसानलाई खेती गर्न सिकाउने, बीउ र आवश्यक सामग्रीका लागि सरकार तथा स्थानीय तहसँग समन्वय गर्ने र उत्पादन भएपछि बजार सुनिश्चित गर्ने हाम्रो योजना हो,‘ उनले भने । कियान एग्रिकल्चरले विभिन्न प्रदेशमा प्रशोधन केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।
किसानबाट खरिद गरिएको कासाभा प्रशोधन केन्द्रमार्फत कियान केमिकल्सको उद्योगमा कच्चा पदार्थका रूपमा आपूर्ति गरिनेछ । कम्पनीले नेपालमा करिब एक लाख ३० हजार हेक्टर क्षेत्रफलमा सिमल तरुलखेती विस्तार गरी करिब २० लाख किसानलाई जोड्ने लक्ष्य राखेको छ ।
किन रोजियो सिमल तरुल ?
अध्यक्ष खरेलका अनुसार इथानोल उत्पादनका लागि विश्वका विभिन्न देशको अभ्यास अध्ययन गरेपछि नेपालका लागि सिमल तरुल उपयुक्त विकल्पका रूपमा छनोट गरिएको हो । ‘अमेरिकाले मकैबाट इथानोल उत्पादन गर्छ । तर त्यो विशेष प्रकारको उच्च स्टार्च भएको मकै हो । नेपालमा खाद्यान्न र औद्योगिक प्रयोगबीच प्रतिस्पर्धा नहोस् भनेर हामीले वैकल्पिक बाली खोज्यौँ,‘ उनले भने । त्यसपछि थाइल्यान्डको कासाभा उत्पादन प्रणाली अध्ययन गरेर नेपालमा यसको सम्भावना देखिएको उनले बताए ।
‘थाइल्यान्डले बाहिरबाट बीउ ल्याएर सिमल तरुललाई व्यावसायिक खेतीका रूपमा विकास गरेको छ । अहिले त्यहाँ सिमल तरुलमा आधारित धेरै उद्योग सञ्चालनमा छन,’ खरेलले भने । खरेलका अनुसार सिमल तरुल कम मेहनत र कम हेरचाहमा उत्पादन हुने बाली हो । ‘यो बलौटे माटो, कम उर्वर जमिन र मार्जिनल ल्यान्डमा पनि उत्पादन गर्न सकिन्छ । यसलाई धेरै सिँचाइ आवश्यक पर्दैन र अन्य बालीको तुलनामा जोखिम कम छ,’ उनले भने ।
उनका अनुसार नेपालमा गाउँघरमा परम्परागत रूपमा तरुलका रूपमा प्रयोग हुँदै आएको सिमल तरुललाई अब औद्योगिक कच्चा पदार्थका रूपमा विकास गर्न सकिन्छ । खाद्यान्न उत्पादन हुने मुख्य जमिनलाई असर नगरी बाँझो तथा कम प्रयोग भएका जमिनमा खेती गर्न सकिन्छ,‘ उनले बताए ।
किसानलाई रोजगारी र आम्दानीसँग जोड्ने लक्ष्य
कियान केमिकल्सले सिमल तरुल खेतीले ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्ने दाबी गरेको छ । ‘आज किसानले बाँदर, बँदेल, मल अभाव, पानीको समस्या जस्ता धेरै चुनौती भोगिरहेका छन् । तरुल खेतीले धेरै समस्या समाधान गर्न सक्छ,‘ खरेलले भने । उनका अनुसार यसले ग्रामीण रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने र किसानको आम्दानी बढाउने सम्भावना छ ।
३६ स्थानीय तहसँग सहकार्य, देशभर परीक्षण खेती
कियान एग्रिकल्चरले हालसम्म ३६ वटा गाउँपालिका तथा नगरपालिकासँग सहकार्य गरेर सिमल तरुल खेती परीक्षण सुरु गरेको जनाएको छ । कम्पनीले चीन, थाइल्यान्ड, भारत तथा नेपालका रैथाने जातका बीउ ल्याएर परीक्षण गरिरहेको छ ।
‘चितवनदेखि सर्लाही हुँदै इलामसम्म किसानलाई बीउ वितरण, तालिम र खेती प्रविधिबारे जानकारी दिइरहेका छौँ,’ खरेलले भने । कम्पनीले किसानलाई निःशुल्क तालिम दिँदै आएको र उत्पादनपछि खेतमै पुगेर प्राविधिक सहयोग गर्ने गरेको जनाएको छ ।
सरकारसँग खरिद सम्झौता नभई ठूलो लगानी जोखिमपूर्ण
कियान केमिकल्सले इथानोल उत्पादनका लागि ११ अर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने योजना बनाएको छ । तर विगतमा खरिद सम्झौता नहुँदा उद्योगहरू समस्यामा परेको उदाहरण रहेकाले आफूहरूले सुरक्षाको माग गरेको खरेलले बताए ।
उनले विगतमा इथानोल उत्पादनका लागि स्थापना गरिएको एउटा उद्योगको उदाहरण दिँदै भने, ‘पहिले पनि एउटा प्रतिष्ठित उद्योग समूहले चिनी उद्योगसँगै इथानोल प्लान्ट स्थापना गरेको थियो । ठूलो लगानीमा मेसिन ल्याइएको थियो, तर सरकारी खरिद सुनिश्चितता नहुँदा त्यो प्लान्ट अहिले प्रयोगविहीन अवस्थामा छ ।’ उनका अनुसार त्यही अनुभवका कारण कियान केमिकल्सले उद्योग स्थापना अघि नै सरकारसँग खरिद सम्झौता वा स्पष्ट नीतिगत व्यवस्था माग गरेको हो ।
‘हामीले २५–२६ करोड रुपैयाँ लगानी गरिसकेका छौँ । चार वर्षदेखि यही नीतिका लागि दौडिरहेका छौँ । यो केवल व्यापारका लागि होइन, देशमा केही गरौँ भन्ने उद्देश्यले हो,’ उनले भने ।
सरकारको नीति स्पष्ट हुनुपर्छ
खरेलले सरकारलाई इथानोल उद्योगका लागि स्पष्ट नीति र सहज वातावरण बनाउन आग्रह गरेका छन् । सरकारले लगानी ल्याउन आह्वान गर्छ, तर लगानी गर्ने वातावरण पनि बनाउनुपर्छ,’ उनले भने । उनका अनुसार सरकारले सिमल तरुलको मूल्य निर्धारण, बीउ तथा कृषि सहयोग प्रणाली र उद्योग सञ्चालनका लागि आवश्यक सम्झौता सुनिश्चित गरिदिए निजी क्षेत्रले ठूलो लगानी गर्न तयार रहेको बताए । ‘हामीलाई अनुदान चाहिएको होइन । हामी आफैँ लगानी ल्याउँछौँ । सरकारले केवल स्पष्ट नीति र बजार सुनिश्चित गरिदियोस्,’ खरेलले भने । उनले सरकारको निर्णय ढिलो भए आफूहरूको ठूलो लगानी योजना नै पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
विदेशी लगानीकर्ता पनि निराश हुन थाले
सरकारले इथानोल उत्पादनका लागि स्पष्ट नीति नबनाउँदा विदेशी लगानीकर्ता निराश हुन थालेको उनले बताए ।
कियान केमिकल्समा अमेरिका, बेलायत, क्यानडा र थाइल्यान्डका लगानीकर्ता तथा साझेदारहरू जोडिएका छन् । तर लामो प्रक्रियाका कारण विदेशी साझेदारहरू समेत निराश हुन थालेको खरेलले बताए ।
हाम्रो बेलायतको टिमले त अहिले छाडिसकेको छ । उनीहरूको भनाइ छ– ‘लगानी गर्ने वातावरण नभए हामी अन्यत्र जान्छौँ,‘ उनले भने । उनका अनुसार विदेशी लगानीकर्ताले नाफामूलक वातावरण खोज्नु स्वाभाविक भए पनि आफू भने नेपालमै लगानी गरेर केही गर्ने उद्देश्यले अघि बढेको बताए ।
‘म धेरै वर्ष अमेरिका बसेँ । साथीहरूलाई पनि नेपाल फर्केर लगानी गरौँ भनेर प्रेरित गरेँ । ८–१० अर्ब रुपैयाँ ल्याएर देशमै उद्योग गरौँ भन्ने सोच थियो,‘ उनले भने । तर सरकारी प्रक्रिया ढिलो हुँदा आफूहरू पनि अन्योलमा परेको उनको भनाइ छ ।