काठमाडौं : भन्सार एजेन्ट महासंघ नेपालले भैरहवा भन्सार कार्यालयमा लागू गरिएको ‘आधिकारिक व्यक्तिलाई मात्र प्रवेश’ व्यवस्था प्रभावहीन बन्ने अवस्था देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले भन्सार क्षेत्र राष्ट्रिय राजस्व र आर्थिक सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्र भएकाले त्यहाँको पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम राख्न सुधारका कदमबाट पछि हट्न नहुने स्पष्ट गरेको छ।
विज्ञप्तिमा व्यापार सहजीकरण र सुशासन एकअर्काका पूरक भएको उल्लेख गर्दै सीमाक्षेत्रका समस्या कानुनी तथा संस्थागत उपायबाट समाधान गर्नुपर्ने धारणा राखिएको छ।
महासंघले प्रधानमन्त्री, अर्थमन्त्री र भन्सार विभागसँग भन्सार सुधारमा स्पष्ट र दृढ नीतिगत नेतृत्व दिन आग्रह गर्दै राजस्व सुरक्षा, सुशासन र कानुनको शासनलाई कुनै पनि दबाबभन्दा माथि राख्नुपर्ने जनाएको छ। साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको पारदर्शी र प्रविधिमैत्री भन्सार प्रणाली निर्माणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।