काठमाडौं : नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी) प्रति उपभोक्ताको आकर्षण बढे भने गाडी आयातमा भने गिरावट आएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १० हजार ८४७ युनिट विद्युतीय गडी (कार, जीप र भ्यान) आयात भएका छन् । तीन मध्ये दुई वटा अन-एसेम्बल गाडी पनि रहेका छन् ।
यस अवधिमा सरकारले २५ अर्ब ५६ करोड २३ लाख १३ हजार रुपैयाँको उक्त संख्यामा गाडी आयात गरेको हो । विभागको तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट १५ अर्ब ४७ करोड ७० लाख तीन हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यद्यपी अघिल्लो वर्षको तुलनामा विद्युतीय कार आयात २ हजार ७३१ युनिट अर्थात २०.११ प्रतिशतले कम हो । अघिल्लो वर्ष नौ वटा वटा अन–एसेम्बल गाडीसहित १३ हजार ५७८ युनिट इभी गाडी आयात भएको थियो । गाडी आयात घटेसँगै सरकारको राजस्व पनि खुम्चिएको छ ।
अघिल्लो वर्ष सरकारले ३१ अर्ब ७६ करोड ४३ हजार रुपैयाँको उक्त संख्यामा गाडी आयात गर्दा १९ अर्ब ७० करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको राजस्व उठाएको थियो । इभी बजारमा माग कायम रहेपनि आयातको परिमाण र सरकारको आम्दानी दुवैमा दबाब देखिएको छ ।
नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । नेपाली बजारमा विशेष गरी मध्यम क्षमताका विद्युतीय गाडीको माग उच्च देखिएको छ ।
तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा १६ अर्ब ४९ करोड ८९ लाख मूल्यका ६ हजार ३५७ युनिट गाडी भित्रिएका छन् ।
असार मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका छ अर्ब ४८ करोड ८६ लाख ७८ हजार मूल्य बराबरका तीन हजार ६८० युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका दुई अर्ब ५० करोड १२ लाख ४८ हजार रुपैयाँ बराबरको ७९८ युनिट गाडी आयात भएका छन् ।
विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका सात करोड १० लाख ७४ हजार रुपैयाँ बराबरका १० युनिट गाडी आयात भएका छन् ।
यस अवधिमा ५० किलोवाट क्षमताका दुई वटा अन–एसेम्बल सवारी २३ लाख ९७ हजार रुपैयाँ बराबरमा आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ।
नेपालमा आयात हुने अधिकांश विद्युतीय सवारीसाधन छिमेकी चीनबाट आउने गरेका छन्। त्यसबाहेक भारत, दक्षिण कोरिया, जर्मनी, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकबाट पनि विभिन्न ब्रान्डका इभी नेपाल भित्रिने गरेका छन्।
चार पाङ्ग्रे इभीको आयातमा गिरावट देखिए पनि तीन पाङ्ग्रे विद्युतीय सवारीको आयात भने उच्च रहेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म एक अर्ब १५ करोड ५७ लाख १० हजार रुपैयाँ बराबरका नौ हजार ५९ युनिट तीन पाङ्ग्रे इभी आयात भएका छन्।
त्यस्तै, एक अर्ब १५ करोड २० लाख १५ हजार रुपैयाँ बराबरका १० हजार ८०५ युनिट अन–एसेम्बल तीन पाङ्ग्रे विद्युतीय सवारी पनि नेपाल भित्रिएको विभागको तथ्यांकले देखाएको छ।