जिडिपीको ४५ प्रतिशत पुग्यो सार्वजनिक ऋण, साँवा ब्याज भुक्तानीमा पौने चार खर्ब खर्च ! 

जिडिपीको ४५ प्रतिशत पुग्यो सार्वजनिक ऋण, साँवा ब्याज भुक्तानीमा पौने चार खर्ब खर्च ! 

काठमाडौं :  सार्वजनिक ऋणको आकार साढे २९ खर्ब रुपैयाँ नघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असार मसान्तसम्ममा सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । 

आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित तीन खर्ब ८५ करोड रुपैयाँ थपिएको हो । 

हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०७ प्रतिशत बराबर हो । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म सरकारले तीन खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत तीन खर्ब १२ अर्ब ४० करोड रुपैयाँ र ब्याज वापत ७३ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड बराबर रहेकामा असार मसान्तसम्ममा बढेर १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २० दशमलव ८४ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले तीन खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा ब्याज बाहेक दुई खर्ब ५० अर्ब ५६ करोड बराबर ऋण तिरेको छ ।

त्यस्तै, असार मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १५ खर्ब ९९ अर्ब ४८ करोड ५७ लाख रुपैयाँ छ । अघिलो असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब पाँच अर्ब ८२ करोड बराबर थियो । 

यस अवधिमा सरकारले बाह्य ऋणको भुक्तानीमा ब्याज बाहेक ६१ अर्ब ८४ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ भने यहि अवधिमा ८८ अर्ब ५० करोड १९ लाख रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २४.२३ प्रतिशत बराबर हो ।

गत आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा यस अवधिमा ४ खर्ब ४७ अर्ब १८ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ७५.०७ प्रतिशत हो । 

जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ९९.०८ र ३७.८८ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८०.२१ र १९.७९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट छुट्याएको थियो । असार मसान्तसम्ममा तीन खर्ब ८६ अर्ब २२  करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । 

यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ९३.९७ प्रतिशत बराबर हो । जिडिपीको आधारमा असार मसान्तसम्मको कुल ऋण सेवा खर्च ५ दशमलव ८५ प्रतिशत बराबर हो ।


 

थप समाचार