काठमाडौं : सीएट ब्रान्डका टायरको नेपालका आधिकारिक वितरक एसटीसी अटो प्रालिले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १ अर्ब १९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।
कम्पनीको कारोबार पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको देखिन्छ। सन् २०२५ मा कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँ र सन् २०२४ मा १ अर्ब १८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२३ मा १ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२२ मा १ अर्ब १८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
यद्यपि कारोबार बढ्दो क्रममा रहे पनि सञ्चालन नाफा मार्जिनमा भने प्रतिस्पर्धाको प्रभाव देखिएको छ। सन् २०२४ मा ७.१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ५.६ प्रतिशत मा झरेको थियो। चालु आर्थिक वर्षको ११ महिनामा भने यो ५.८ प्रतिशत पुगेको छ।
प्रतिवेदनअनुसार टायर बजारमा बढ्दो प्रतिस्पर्धा र मूल्यमा परेको दबाबका कारण पछिल्ला केही वर्षदेखि सञ्चालन नाफा मार्जिन संकुचित हुँदै आएको छ। तर, ब्याजदरमा आएको कमी, वित्तीय लागत घट्नु तथा राजस्वमा भएको वृद्धिका कारण कम्पनीको खुद नाफा मार्जिनमा सुधार देखिएको उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको राजस्व ७ प्रतिशतले वृद्धि भएको थियो भने चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वार्षिक आधारमा करिब ३ प्रतिशत वृद्धि भएको छ। यस अवधिमा कम्पनीको कुल ऋण–सञ्चालन नाफा अनुपात ६.५ गुणा तथा ऋण सेवा क्षमता अनुपात १.१ गुणा रहेको छ।
यद्यपि कम्पनीले आर्थिक वर्ष २०२५ मा खुद नाफाभन्दा बढी अर्थात् १४३ प्रतिशत लाभांश वितरण गरेकाले आन्तरिक नगद सञ्चिति नकारात्मक बनेको प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको ११ महिनामा कम्पनीको कुल आम्दानीमध्ये ३९ प्रतिशत हिस्सा दुईपांग्रे सवारीका टायरबाट आएको छ। त्यसपछि ३२ प्रतिशत व्यावसायिक सवारीका टायर र २३ प्रतिशत यात्रुवाहक सवारीका टायर बिक्रीबाट प्राप्त भएको कम्पनीले जनाएको छ।
हाल कम्पनीले देशभर तीन शाखा कार्यालय र २५० भन्दा बढी डिलर मार्फत कारोबार गर्दै आएको छ। कुल राजस्वमध्ये करिब ६४ प्रतिशत हिस्सा काठमाडौंसहितको केन्द्रीय क्षेत्रबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१२ मा स्थापना भएको एसटीसी अटो प्रालि नेपालमा सीएट ब्रान्डका टायरको आधिकारिक वितरक हो। कम्पनी दुईपांग्रे सवारीका लागि सीएट टायरको एकमात्र आधिकारिक वितरक तथा अन्य सवारीसाधनका टायरका लागि राष्ट्रिय वितरकमध्ये एक का रूपमा कार्यरत छ। कम्पनीको स्वामित्व सुरेन्द्र कुमार उप्रेती र भोलेश्वर दुलालको बराबर हिस्सामा रहेको छ।
कम्पनीको दीर्घकालीन कर्जाको सीमा ३४ करोड रुपैयाँबाट घटाएर ३० करोड ७० लाख रुपैयाँ कायम गरिएको छ। अल्पकालीन ऋण सीमा भने ५३ करोड रुपैयाँबाट बढाएर ५४ करोड ३० लाख रुपैयाँ पुर्याइएको छ। यससँगै कम्पनीको कुल मूल्याङ्कन गरिएको ऋण सीमा ८७ करोड रुपैयाँबाट घटाएर ८५ करोड रुपैयाँ कायम गरिएको छ।