माइलेज र इन्जिनमा असर परेपछि पेट्रोलमा २५ प्रतिशत इथानोल मिसाउने भारतको योजना स्थगित

माइलेज र इन्जिनमा असर परेपछि पेट्रोलमा २५ प्रतिशत इथानोल मिसाउने भारतको योजना स्थगित

नयाँ दिल्ली : पेट्रोलमा इथानोलको मात्रा २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने भारत सरकारको योजना तत्काल कार्यान्वयन नहुने देखिएको छ।

देशभर ई-२० (८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोल) इन्धन लागू भइसकेपछि उपभोक्ता, सवारी निर्माता कम्पनी तथा प्राविधिक निकायबाट आएका प्रतिक्रिया र चिन्तालाई मध्यनजर गर्दै सरकारले थप इथानोल मिश्रणको निर्णयमा हतार नगर्ने भएको हो।

भारत सरकारले सुरुमा सन् २०३० सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको थियो। तर निर्धारित समयभन्दा धेरै अघि नै उक्त लक्ष्य हासिल गर्दै ई-२० इन्धनलाई देशभरको मानक पेट्रोलका रूपमा लागू गरिसकेको छ। अहिले भारतभरका अधिकांश पेट्रोल पम्पमा यही इन्धन बिक्री भइरहेको छ।

तर ई-२० लागू भएसँगै धेरै सवारीधनीले गाडीको माइलेज घटेको गुनासो गर्न थालेका छन्। विशेषगरी पुराना सवारीसाधनका प्रयोगकर्ताले इथानोलको उच्च मिश्रणले इन्जिन तथा इन्धन प्रणालीका विभिन्न पार्टपुर्जामा दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

यही कारण सरकारले २५ प्रतिशत इथानोल मिश्रण (ई-२५) लागू गर्ने योजनालाई तत्काल अघि नबढाई थप अध्ययन, परीक्षण र छलफलपछि मात्रै निर्णय गर्ने संकेत दिएको हो।

यसैबीच, अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) ले गरेको एक अध्ययनले पुराना बीएस–४ मापदण्डअनुसार निर्मित सवारीसाधनमा ई-२० इन्धन प्रयोग गर्दा इन्धन प्रणालीका रबरबाट बनेका पाइप, ग्यास्केट, सिल र ओ-रिङजस्ता पार्टपुर्जामा असर पर्न सक्ने देखाएको छ। 

यद्यपि उक्त अध्ययन प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। सरकार र प्रमुख सवारी निर्माता कम्पनीबीच भने यही अध्ययनलाई आधार मानेर प्राविधिक छलफल भइरहेको बताइएको छ।

इथानोलको ऊर्जा उत्पादन क्षमता (क्यालोरिफिक भ्यालु) शुद्ध पेट्रोलभन्दा कम हुन्छ। त्यसैले समान परिमाणको इन्धन प्रयोग गर्दा इथानोल मिसिएको पेट्रोलबाट कम ऊर्जा उत्पादन हुने भएकाले गाडीको माइलेज केही घट्न सक्छ। इथानोलको दहन तापक्रम पनि पेट्रोलभन्दा फरक हुने भएकाले इन्जिनको कार्यसम्पादनमा केही प्रभाव पर्न सक्ने उनीहरूको भनाइ छ।

एआरएआईको अध्ययनअनुसार चारपांग्रे सवारीसाधनमा गरिएको दीर्घकालीन परीक्षणमा मिश्रित नतिजा प्राप्त भएको छ। दुई कम्पनीले इन्जिनको टिकाउपन परीक्षण गर्दा एउटा कम्पनीको इन्जिनले ४०० घण्टाभन्दा बढी परीक्षण सफलतापूर्वक पार गरेको थियो र कुनै प्राविधिक समस्या देखिएको थिएन। 

तर अर्को कम्पनीको इन्जिनलाई ८०९ घण्टासम्म परीक्षण गर्दा एक्जस्ट भल्भमा ‘थर्मो-मेकानिकल फेलियर’ देखिएको उल्लेख गरिएको छ। यस्तो समस्या अत्यधिक ताप र निरन्तर यान्त्रिक दबाबका कारण उत्पन्न हुने र यसले भल्भ बाङ्गिने, चर्किने वा भाँचिने अवस्था सिर्जना गर्न सक्ने विज्ञहरूको भनाइ छ।

अध्ययनमा विभिन्न प्रकारका इन्जिनको पनि तुलना गरिएको थियो। प्राकृतिक रूपमा हावा तान्ने (नेचुरली एस्पिरेटेड) बीएस-४ इन्जिनले ई-२० इन्धनसँग सन्तोषजनक प्रदर्शन गरेको देखिएको छ। तर टर्बोचार्ज्ड बीएस-६ इन्जिनमा भने करिब २६५ घण्टाको परीक्षणपछि केही प्राविधिक समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ।

यद्यपि दुईपांग्रे सवारीसाधनको परीक्षण भने सकारात्मक देखिएको छ। तीन प्रमुख मोटरसाइकल निर्माता कम्पनीले गरेको ड्युरेबिलिटी परीक्षणमा ई-२० इन्धनका कारण इन्जिनमा कुनै उल्लेखनीय समस्या नदेखिएको र यो इन्धन प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको छ।

एआरएआईको अध्ययनले ई-२० इन्धन प्रयोग गर्दा धातुका पार्टपुर्जामा कुनै प्रतिकूल असर नदेखिएको र उत्सर्जन पनि कानुनी मापदण्डभित्रै रहेको उल्लेख गरिएको छ। तर इन्धन खपत भने बीएस-१० इन्धनको तुलनामा करिब २ देखि ६ प्रतिशतसम्म बढ्न सक्ने अध्ययनले देखाएको छ। 

यसको अर्थ समान दूरी पार गर्न बढी इन्धन आवश्यक पर्ने भएकाले गाडीको माइलेज घट्ने सम्भावना रहन्छ। यो प्रभाव भने सवारीसाधनको मोडल, इन्जिनको प्रकार र प्रयोगको अवस्थाअनुसार फरक हुन सक्छ।

यसअघि भारत सरकार र अटोमोबाइल उद्योगका प्रतिनिधिहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै ठूलो स्तरमा गरिएको परीक्षणमा ई-२० इन्धनका कारण सवारीसाधनमा गम्भीर क्षति पुगेको कुनै ठोस प्रमाण नभेटिएको दाबी गरेका थिए। सामाजिक सञ्जालमा माइलेज र इन्जिन बिग्रिएको विषयमा व्यापक चर्चा भएपछि उक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

पत्रकार सम्मेलनमा इन्जिनियर्स इन्डिया लिमिटेडकी पूर्व अध्यक्ष वर्तिका शुक्ला, बजाज अटोका सर्कल हेड मनप्रीत सिंह, टीभीएस मोटरका वरिष्ठ उपाध्यक्ष प्रशान्त कृष्णन, टोयोटा किर्लोस्कर मोटरका कन्ट्री हेड विक्रम गुलाटी, मारुति सुजुकीका वरिष्ठ कार्यकारी अधिकारी राहुल भारती, हुन्डाई इन्डियाका पुनीत आनन्द तथा हिरो मोटोकर्पका आशुतोष वर्मालगायत उद्योगका वरिष्ठ अधिकारी सहभागी थिए।

 

थप समाचार