काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घरजग्गा कारोबारको संख्या ६.४२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति मा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म राष्ट्रियस्तर घरजग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तोकारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखतपारित अन्तर्गतको कारोबार संख्या ०.६२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रयमासमा यस्तो कारोबार संख्या ६.७१ प्रतिशतले घटेको थियो ।
यस अवधिमा लिखतपारित अन्तर्गतको राजीनामा कारोबारको संख्या १२.१७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रोत्रयमासमा यस्तो कारोबार संख्या ३.२६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा कारोबार भएको कूल क्षेत्रफल १.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो । यस अवधिमा रु.१८३.९० अर्ब बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा रु.१००.०७ अर्ब बराबरको घरजग्गा कारोबार भएकोथियो ।
चैतसम्ममा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो । घरजग्गा कारोबारबाट संकलन भएको पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर १८.३१ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा (आवसीय घरजग्गा कर्जा सहित) ५.५५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रोत्रयमासमा यस्तो कर्जा ७.५२ प्रतिशतले बढेको थियो ।
प्रादेशिकस्तर
चालु आवको तेस्रो त्रयमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा यस्तो कारोबार संख्या बढेको छ ।
यस अवधिमा घरजग्गाको कारोबार भएको कूल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले बढेकोछ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले घटेको छ ।
चैतसम्ममा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले कारोबारकोकुल मूल्य बढेको छ ।
यस अवधिमा सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरैकारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा २० आना भन्दा बढीका प्लटहरुमा सबैभन्दा धेरैकारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको थियो ।
महानगरपालिकास्तर
यस अवधिमा छ वटै महानगरपालिकाहरुमध्ये काठमाडौँ महानगरपालिकामा घरजग्गाको कुल कारोबारको संख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशतले बढेको छ । त्यसपछि क्रमशः पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुर महानगरपालिकामा ७३.८१ प्रतिशत, बिरगन्ज महानगरपालिकामा ३१.०७ प्रतिशत, भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत र बिराटनगर महानगरपालिका २७.९२ प्रतिशतले बढेको छ ।
यस अवधिमा कारोबार भएको कूल क्षेत्रफल ६ वटै महानगरपालिकाहरुमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै११९.८९ प्रतिशत र भरतपुर महानगरपालिकामा सबैभन्दा कम २९.२१ प्रतिशत रहेको छ ।
चैतसम्म घरजग्गा कारोबारको कूल मूल्य ६ वटै महानगरपालिकाहरुमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २२३.१२ प्रतिशत रहेको छ ।
उप-महानगरपालिकास्तर
चालु आवको तेस्रो त्रैमासम्म कलैया उप-महानगरपालिका बाहेक सबै उप-महानगरपालिकाहरुमा घरजग्गा कारोबारको संख्या बढेको छ । बुटवल उप–महानगरपालिकामा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ । कलैया उप-महानगरपालिकामा भने यस्तो कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ ।
यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल कलैया उप-महानगरपालिका र नेपालगञ्ज उप-महानगरपालिकामा बाहेक सवै उप-महानगरपालिकाहरुमा बढेको छ । तुलसीपुर उप-महानगरपालिकामा सबैभन्दा धेरै ४२.७४ प्रतिशतले बढेको छ । नेपालगञ्ज उप-महानगरपालिकामा भने कारोबार भएकोकुल क्षेत्रफल ६८.२९ प्रतिशतले घटेको छ ।
यस अवधिमा घरजग्गा कारोबारको कूल मूल्य ११ वटै उप-महानगरपालिकाहरुमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । तुलसीपुर उप-महानगरपालिकामा सबैभन्दा धेरै १३४.४६ प्रतिशतले बढेको छ ।