काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सोमबार धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा सम्पन्न भएको हो ।
साधारणसभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले पछिल्लो समय वित्तीय क्षेत्रमा चुनौतीपूर्ण अवस्था रहे पनि आगामी दिनमा वातावरण सहज बन्दै जाने विश्वास व्यक्त गरे । उनले संस्थाले ग्राहक सदस्यहरूलाई अझ गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्दै शेयरधनीहरूको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए ।
साथै, नेपाल राष्ट्र बैंकबाट आगामी दिनमा जारी हुने नीति तथा निर्देशनहरू लघुवित्त क्षेत्रमैत्री हुने अपेक्षा व्यक्त गर्दै त्यस्ता नीतिले ग्रामीण वित्तीय पहुँच विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सुझाव र प्रोत्साहन प्रदान गर्ने सम्पूर्ण शेयरधनी, ग्राहक सदस्य, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, बैंक तथा वित्तीय संस्था, लेखापरीक्षक, विकास साझेदार तथा दातृ निकाय र संस्थाका सम्पूर्ण कर्मचारीप्रति सञ्चालक समितिको तर्फबाट आभार व्यक्त गरे । आगामी दिनमा पनि यस्तै सहयोग र साथ निरन्तर प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि kuber N.Bhattarai & co. लाई लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भएको संस्थाले जनाएको छ।
यसैगरी, संस्थाको सञ्चालक समितिमा संस्थागत तथा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन पनि सर्वसम्मत रूपमा सम्पन्न भएको छ। निर्वाचनबाट नविल बैंक लिमिटेडका प्रतिनिधि टेकराज भट्ट, लुम्बिनी विकास बैंक लिमिटेडका प्रतिनिधि भेषराज गौतम, डिप्रोक्स–नेपालका प्रतिनिधि कृष्णप्रसाद न्यौपाने, संस्थापक शेयरधनीका तर्फबाट डा. भृगुऋषि देवकोटा तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सीता लुइँटेल निर्वाचित भएका छन् ।
संस्थाले २०८३ साल जेठ मसान्तसम्म देशभर रहेका ९९ शाखा कार्यालयमार्फत करिब ८० हजार ग्रामीण तथा विपन्न महिलालाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ। सो अवधिसम्म संस्थाको करिब ८ अर्ब ६० करोड रुपैयाँ लगानीमा कर्जा बाँकी रहेको छ।
त्यसैगरी सदस्यहरूको बचत करिब २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थाबाट लिइएको करिब २ अर्ब ९८ करोड रुपैयाँ कर्जा परिचालन गर्दै संस्थाले सेवा विस्तार गरिरहेको जनाएको छ।
संस्थाले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, महिला उद्यमशीलता प्रवर्द्धन तथा विपन्न वर्गको आर्थिक सशक्तीकरणमा केन्द्रित भएर सेवा प्रदान गर्दै आएको छ ।