काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८१ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।
गत असार १७ गते बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५ अर्ब रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् असार १६ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थामा ८० खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने ७ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ७३ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ७३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५९ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५२ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबार स्थिर रहेको छ भने सिडि रेसियो घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर .७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७२.४५ बिन्दुमा झरेको छ ।