मन्त्री रावलका १०० दिन: सहकारीदेखि भूमि सुधारसम्म ४८ उपलब्धि

मन्त्री रावलका १०० दिन: सहकारीदेखि भूमि सुधारसम्म ४८ उपलब्धि

काठमाडौं : बालेन शाह नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो कार्यकालको पहिलो १०० दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेकी छन्।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रावलले भूमि प्रशासन, सहकारी सुधार, निजामती प्रशासन र स्थानीय तहको सेवा प्रवाहमा केन्द्रित ४८ वटा प्रमुख काम सम्पन्न गरेको दाबी गरेकी छन्।

मन्त्री रावलको नेतृत्वमा रिक्त रहेका २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने, सहकारी पीडितमध्ये १ हजार ७५४ बचतकर्तालाई २ करोड ६३ लाख रुपैयाँ फिर्ता गराउने, तथा १५४ जना ऋणीबाट ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी ऋण असुली गर्ने काम भएको मन्त्रालयले जनाएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण, ६ वटा स्थानीय तहबाट नापी तथा मालपोत सेवा सुरु, वडा तहबाट डिजिटल सिफारिस प्रणाली परीक्षण तथा मालपोत कार्यालयमा सेवाग्राहीबाहेक अनधिकृत प्रवेश रोक्ने व्यवस्था पनि १०० दिनभित्र लागू गरिएको उल्लेख छ।

प्रशासनिक सुधारअन्तर्गत कर्मचारी सरुवा अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्ने व्यवस्था, किताबखानाको पूर्ण डिजिटल प्रणाली सुरु, सम्पर्कविहीन र विदेशी आवासीय अनुमति (DV/PR/TR) लिएका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाउने तथा बैंकबाटै जग्गा रोक्का–फुकुवा गर्न सकिने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै, ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरी हजारौं प्रयोगकर्तामार्फत सेवा प्रवाह सुरु गरिएको, सहकारीमा भएको अनियमितता छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको तथा निजामती सेवा विधेयकको मस्यौदा तयार गरिएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदा, संघ–प्रदेश–स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणका राष्ट्रिय मापदण्ड, स्थानीय तहको सेवा गुणस्तर प्रमाणीकरण मापदण्ड तथा कर्मचारी आचारसंहिता लागू गर्ने काम पनि सम्पन्न भएको छ।

यसैगरी भूमिहीनको डिजिटल लगत संकलन, सहकारी ड्यासबोर्ड, अनलाइन अपोइन्टमेन्ट प्रणाली, ऋण व्यवस्थापन प्रणाली (LCMS), कर्मचारी व्यवस्थापन सूचना प्रणाली (PMIS) को खाका तयार गरिएको छ।

मन्त्रालयका कार्यक्रम होटल तथा रिसोर्टमा नगरी मन्त्रालय परिसरमै सञ्चालन गर्ने निर्णय र भूमि प्रशासन सेवामा अनलाइन भुक्तानी प्रणाली सुरु गरिएका उपलब्धिमध्ये प्रमुख रहेको मन्त्रालयले जनाएको छ।

मन्त्री रावलले सार्वजनिक गरेको कार्यसम्पादन विवरणले बालेन शाह नेतृत्वको सरकारको पहिलो १०० दिनमा प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, भूमि व्यवस्थापन र सहकारी क्षेत्र सुधारलाई प्राथमिकतामा राखिएको र उनले यी कार्यहरु छोटाे समयमै कुशलतापूर्वक सम्पन्न गरेको देखिएको छ।

थप समाचार