Below Menu
Below Menu

बजेट सफल बनाउन कृषि, रोजगारी र युवा नीतिमा जोड

बजेट सफल बनाउन कृषि, रोजगारी र युवा नीतिमा जोड

काठमाडौं : राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्यले नेपालमा विगत ७५ वर्षको बजेट कार्यान्वयनको इतिहास हेर्दा अपेक्षित सुधार हुन नसकेको बताएका छन्। साउथवेस्टर्न स्टेट कलेजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको उल्लेख गर्दै लगानीको वातावरण बनाउन आन्तरिक श्रम व्यवस्थापन र उत्पादकत्व बढाउने कार्यक्रम आवश्यक रहेको बताए।

उनले दक्षिण एशियामै नेपाली श्रमिकको उत्पादकत्व न्यून रहेको उल्लेख गर्दै युवा पुस्तालाई प्रविधिसँग जोडेर उत्पादनशील क्षेत्रमा लगानी बढाउन सरकारको थप पहल आवश्यक रहेको धारणा राखे।

नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले ठूलो आकारको बजेट कार्यान्वयन गर्न कठिन हुने भन्दै बजेट लगानीमुखी र उत्पादनमुखी हुनुपर्ने बताए। उनले युवालाई नागरिकताको आधारमा सहुलियत ऋण, बाँझो जमिनको उपयोग, विद्यार्थीका लागि पार्टटाइम रोजगारीजस्ता कार्यक्रम बजेटमा समेटिनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठले आर्थिक गतिविधि सुस्त भएको र दैनिक ठूलो संख्यामा युवा विदेशिनु चिन्ताको विषय भएको भन्दै युवालाई देशमै रोक्ने नीति आवश्यक रहेको बताए। उनले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा प्राथमिकता दिनुपर्ने धारणा राखे।

नेपाल बैंकर्स एशोसियसनका पूर्व अध्यक्ष भुवनकुमार दाहालले आर्थिक वृद्धिदरको लक्ष्य अझ महत्वाकांक्षी बनाउनुपर्ने र प्रत्येक मन्त्रीलाई वैदेशिक लगानी भित्र्याउने लक्ष्य तोकिनुपर्ने सुझाव दिए।

कार्यक्रममा क्याम्पस प्रमुख राजेन्द्र केसी र सहायक क्याम्पस प्रमुख डा. हरिसिंह केसीले बजेटमा उल्लेख कार्यक्रम कार्यान्वयनमै मुख्य चुनौती रहेको भन्दै सरकारले कार्यान्वयन पक्षलाई प्राथमिकतामा राख्नुपर्ने बताए। कार्यक्रमको सहजीकरण पत्रकार नवीन काफ्लेले गरेका थिए।

Advertisment

थप समाचार