नयाँ दिल्ली : बजाज अटोले भारतमा आफ्नो पल्सर एन१२५ मोटरसाइकलको बिक्री बन्द गर्ने निर्णय गरेको छ। सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको यो बाइकले भारतीय बजारमा दुई वर्ष पनि पूरा गर्न सकेन।
कम्पनीले देशभरका डिलरहरूलाई यसको आपूर्ति रोकिसकेको छ। यद्यपि, यो मोडल अझै पनि बजाजको आधिकारिक भारतीय वेबसाइटमा सूचीबद्ध रहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पल्सर एन१२५ अपेक्षित बिक्री गर्न नसकेपछि कम्पनीले यो निर्णय लिएको हो। बजाज अटोले विगतमा पनि बजारमा कमजोर प्रदर्शन गर्ने मोडलहरूलाई उत्पादन र बिक्रीबाट हटाउँदै आएको छ, र पल्सर एन१२५ त्यसैको पछिल्लो उदाहरण बनेको हो।
पल्सर एन१२५ केवल पुरानो मोडलको नयाँ संस्करण थिएन। कम्पनीले यसलाई पूर्ण रूपमा नयाँ प्लेटफर्ममा विकास गरेको थियो, जुन अन्य कुनै पनि पल्सर मोडलसँग मिल्दैन।
यसमा नयाँ १२५ सीसी इन्जिन, नयाँ चेसिस र हल्का संरचना प्रयोग गरिएको थियो, जसका कारण यसको कर्ब तौल करिब १२५ किलोग्राम मात्र थियो। साथै, कम्पनीले यसमा नयाँ डिजाइन भाषा अपनाएको थियो, जसले यसलाई अन्य पल्सर मोडलभन्दा फरक पहिचान दिएको थियो।
बजाजले आधुनिक र फरक शैलीमा बाइक तयार गरे पनि भारतीय ग्राहकहरूले यसको डिजाइनलाई अपेक्षाअनुसार नरुचाइएको जनाएको छ । विशेषगरी यसको पातलो र लामो बनावटले धेरै ग्राहकलाई आकर्षित गर्न नसकेको उल्लेख छ ।
त्यसको विपरीत, हिरो एक्सट्रीम १२५आर र होन्डा सीबी१२५ हर्नेट जस्ता प्रतिस्पर्धी मोडलहरू आकारमा ठूलो, मस्कुलर र स्पोर्टी देखिने भएकाले ग्राहकको रोजाइमा परिरहेका छन्। भारतीय बजारमा यस्तो डिजाइन भएका बाइकप्रति युवाहरूको आकर्षण बढी देखिएको छ।
पल्सर एन१२५ असफल हुनुको अर्को प्रमुख कारण यसमा आधुनिक फिचरहरूको कमी हुनु पनि मानिएको छ। अहिलेको १२५ सीसी सेग्मेन्टमा ग्राहकहरूले डिजिटल सुविधा र सुरक्षा प्रविधिलाई विशेष महत्व दिन थालेका छन्।
तर, पल्सर एन१२५ मा टीएफटी डिस्प्ले जस्तो रंगीन डिजिटल स्क्रिन उपलब्ध थिएन। साथै, धेरै प्रतिस्पर्धी मोडलमा उपलब्ध एबीएस (ABS–Anti-lock Braking System) सुरक्षा प्रणाली पनि यसमा समावेश गरिएको थिएन। यी सुविधाको अभावले ग्राहकलाई अन्य विकल्पतर्फ आकर्षित गरेको विश्लेषण गरिएको छ।
टीएफटी (Thin Film Transistor) डिस्प्ले आधुनिक, उच्च-रिजोल्युसन र रंगीन डिजिटल स्क्रिन हो। यसले बाइकको गति, गियर पोजिसन, इन्धनको मात्रा, ट्रिप मिटर, समय, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन लगायतका जानकारी स्पष्ट रूपमा देखाउँछ। एलसीडी स्क्रिनको तुलनामा टीएफटी डिस्प्ले बढी आकर्षक र पढ्न सजिलो मानिन्छ।
त्यस्तै, एबीएस (Anti-lock Braking System) मोटरसाइकलको महत्वपूर्ण सुरक्षा प्रविधि हो। आकस्मिक रूपमा ब्रेक लगाउँदा पाङ्ग्रा लक हुन नदिई बाइकको नियन्त्रण कायम राख्न यसले सहयोग गर्छ। विशेषगरी चिप्लो सडक वा उच्च गतिमा एबीएसले दुर्घटनाको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्छ।
भारतमा बिक्री बन्द गरिए पनि पल्सर एन१२५ को यात्रा भने पूर्ण रूपमा समाप्त भएको छैन। कम्पनीले नेपाल, पेरु, कोलम्बिया, मोरक्कोलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा यो बाइक बिक्री गर्न जारी राख्ने जनाएको छ।
भविष्यमा यही प्लेटफर्मलाई थप आधुनिक सुविधा, नयाँ डिजाइन तथा सुरक्षा प्रविधिसहित परिमार्जन गरेर भारतीय बजारमा पुनः ल्याइने वा नल्याइने विषयमा कम्पनीले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।
Advertisment