Below Menu
Below Menu

६ लाख डलरको विद्युतीय सुपरकार ‘लुचे’ विवादपछि फेरारीका मार्केटिङ प्रमुख गालिएराले छाडे कम्पनी

६ लाख डलरको विद्युतीय सुपरकार ‘लुचे’ विवादपछि फेरारीका मार्केटिङ प्रमुख गालिएराले छाडे कम्पनी

एजेन्सी : इटालीको प्रतिष्ठित लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीका प्रमुख मार्केटिङ तथा व्यावसायिक अधिकृत एनरिको गालिएराले १६ वर्षको लामो सेवापछि कम्पनी छोडेका छन्।

फेरारीको पहिलो पूर्ण विद्युतीय सुपरकार ‘लुचे’ सार्वजनिक भएपछि उत्पन्न भएको आलोचनाको केही सातामै कम्पनीका मार्केटिङ प्रमुखले पद छाडेका हुन् । 

फेरारीले जारी गरेको आधिकारिक वक्तव्यअनुसार गालिएराले आफ्नो व्यावसायिक जीवनको नयाँ यात्रा सुरु गर्ने निर्णय गरेका हुन्। कम्पनीका अनुसार यो निर्णयबारे केही समयअघि नै सहमति भइसकेको थियो। गालिएराको स्थानमा आगामी जुलाईदेखि बीएमडब्ल्यू इटालीका पूर्व प्रमुख मासिमिलियानो डी सिल्भेस्ट्रेले जिम्मेवारी सम्हाल्नेछन्।

फेरारीका प्रमुख कार्यकारी अधिकृत बेनेडेटो भिग्नाले गालिएराको योगदानको उच्च प्रशंसा गरेका छन्। उनले गालिएराले फेरारीको अन्तर्राष्ट्रिय विस्तार, ब्रान्ड सुदृढीकरण तथा व्यावसायिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनको योगदान कम्पनीका लागि अविस्मरणीय रहने बताएका छन्। भिग्नाले उनको आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरेका छन्।

सन् २०१० मा मार्केटिङ प्रमुखको जिम्मेवारी सम्हालेका गालिएरा फेरारीका धेरै महत्वपूर्ण परियोजना र रणनीतिक निर्णयसँग प्रत्यक्ष रूपमा जोडिएका थिए। विशेषगरी कम्पनीका सीमित संस्करणका उच्च मूल्यका गाडीहरू कुन ग्राहकलाई उपलब्ध गराउने भन्ने संवेदनशील जिम्मेवारी पनि उनकै नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। यही कारण उनी फेरारीका प्रभावशाली कार्यकारीमध्ये एक मानिन्थे।

उनको कार्यकालमा फेरारीले सन् २०१३ मा ‘ला फेरारी’ नामक पहिलो उत्पादन हाइब्रिड हाइपरकार सार्वजनिक गरेको थियो, जसमा पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन गरिएको थियो। त्यसपछि कम्पनीले सन् २०१५ मा न्युयोर्क स्टक एक्सचेन्जमा र सन् २०१६ मा मिलान स्टक एक्सचेन्जमा सूचीकृत हुँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाएको थियो।

यद्यपि हालै सार्वजनिक गरिएको फेरारीको पहिलो पूर्ण विद्युतीय सुपरकार ‘लुचे’ अपेक्षाअनुसार सफल सुरुआत गर्न सकेन। करिब ६ लाख ४० हजार अमेरिकी डलर मूल्य निर्धारण गरिएको उक्त गाडी सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा आलोचना र व्यंग्यको विषय बनेको थियो। 

धेरै प्रयोगकर्ताले यसको डिजाइनलाई लिएर प्रश्न उठाएका थिए भने विभिन्न मिम तथा व्यंग्यात्मक सामग्रीहरू व्यापक रूपमा साझा गरिएका थिए।

लुचेको डिजाइनमा चर्चित आईफोन डिजाइनर सर जोनी आइभको अवधारणा समावेश गरिएको बताइए पनि त्यसले अपेक्षित प्रशंसा पाउन सकेन। इटालीका उपप्रधानमन्त्री तथा यातायात मन्त्री एवं फेरारीका पूर्व अध्यक्ष मात्तेओ साल्भिनीले समेत गाडीको डिजाइनप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

बजारले पनि लुचेको सार्वजनिकरणलाई सकारात्मक रूपमा लिन सकेन। गाडी सार्वजनिक भएको भोलिपल्ट नै फेरारीको शेयर मूल्य करिब ८ प्रतिशतले घटेको थियो । यद्यपि फेरारीले गालिएराको बहिर्गमन र लुचेमाथि भएको आलोचनाबीच कुनै सम्बन्ध रहेको स्वीकार गरेको छैन।   

Advertisment